१० करोडमा नेपालगन्जमा अत्याधुनिक अक्सिजन ग्यास प्लान्ट

१० करोड रुपैंयाको लागतमा नेपालकै सबैभन्दा ठुलो अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट नेपालगन्जमा संचालनमा ल्याइएको छ ।
नेपालगन्ज उपमहानगर–१७ परसपुरमा संचालनमा ल्याइएको सो प्लान्टबाट पुरै पश्चिम नेपालका बिरामी लगायतले सेवा पाउने भएका छन् ।
बाँकेका युवा व्यवसायीहरू सम्मिलित हरि ओम ग्रुपको लगानी रहेको एचओ अक्सिजन इन्ड्रष्ट्रिज नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट हो । खासगरी पश्चिम नेपालमा अक्सिजन र नाइट्रोजन ग्यास सिलिन्डरको बजारलाई पूर्णतया आत्मनिर्भर बनाउने आफूहरूको सोच रहेको हरि ओम ग्ु्रपका सञ्चालक सदस्य तुषार साहले बताए ।
आम नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै मध्य तथा सुदूरपश्चिममा बढ्दै गइरहेको चिकित्सा क्षेत्रको विस्तार अनि त्यसलाई सम्बोधन गर्न सक्ने उपायहरूको बारेमा लामो समयसम्मको गृह कार्यपछि यस क्षेत्रमा विकसित भइरहेको औद्योगिक अनि स्वास्थ्य सेवा व्यवसायलाई थप टेवा पु¥याउन उच्च गुणस्तरको अक्सिजन ग्यास प्लान्टको स्थापना गरेको उनले बताए ।
“हामीले देशमै ठूलो अक्सिजन ग्यास प्लान्टको स्थापना र यसको सफल उत्पादनलाई सार्थकता दिएका छौँ”–अर्का संचालक विक्रम बर्माले भने– “नेपालमा अहिले करिब २६ वटा उद्योगहरूमध्ये केहीले मात्रै अक्सिजन र नाइट्रोजन ग्यास तथा लिक्विड उत्पादन गर्दै आएका छन् । ललितपुरको लुभुस्थित अक्सिजन ग्यास प्लान्टपछि अत्याधुनिक प्रविधिबाट अक्सिजन र नाइट्रोजन उत्पादन गर्ने प्लान्ट हामीले बाँकेमा स्थापना गर्न सफल भएका छौँ ।”
सो प्लान्ट संचालनमा आएसँगै नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्याससंगै लिक्विड उपलब्ध हुने प्लान्टका संचालक गौरव कुमार श्रेष्ठको भनाइ छ ।
उनले नेपालकै सबैभन्दा ठूलो प्लान्ट भएको दाबी गर्दै सो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिन्डर अक्सिजन ग्यास उत्पादन हुने, दैनिक १२ सय लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट जिरो एयर ग्यास पनि उत्पादन गरिने जानकारी दिए ।
बढ्दो जनसंख्याको चाप, विरामीहरूको वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पतालहरू र व्यक्तिगत जीवनका साथै बजार आवश्यकताको अध्ययन गरेर काठमाडौं बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन नेपालगन्जमा प्लान्ट स्थापना गरिएको संचालक श्रेष्ठको भनाइ छ ।
अक्सिजन, नाइट्रोजन ग्यास र नाइट्रोजन लिक्विडजस्ता पदार्थहरू खासगरी औद्योगिक तथा स्वास्थ्य सेवा क्षेत्रको प्रयोजनका लागि हुनेछ । खासगरी पश्चिम नेपालको नारायणघाटदेखि पश्चिम क्षेत्रका उद्योग, कलकारखाना अनि स्वास्थ्य संस्थाहरूमा सहज र सुलभ तरिकाले गुणस्तरीय उत्पादन दिने पनि संचालकहरूको दाबी छ ।
नेपालगन्जमा ग्यास प्लान्ट संचालनमा आएपछि यो सहरले व्यावसायिक रूपमै नयाँ फड्को मार्न सफल भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जमा यस्ता ठूला उद्योगहरू संचालनमा आउनु निकै सकारात्मक रहेको बताए ।