राजस्व संकलनमा सफल, खर्च गर्न असफल «

राजस्व संकलनमा सफल, खर्च गर्न असफल

पुँजीगत खर्च गर्न असफल भएको सरकार राजस्व उठाउन भने सफल भएको छ । चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो सात महिनामा सरकारले राजस्व संकलनतर्फ राम्रो प्रगति गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।
माघ मसान्तसम्ममा सरकारले पाँच खर्ब ६० अर्ब कर राजस्व तथा ५२ अर्ब गैरकर राजस्व गरी कुल ६ खर्ब १३ अर्ब राजस्व संकलन गरेको छ, जुन वार्षिक बजेटमा उल्लेख गरिएको लक्ष्यको ५१.९६ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष सरकारले सोही अवधिमा ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको कुल राजस्व संकलन गरेको थियो ।
राजस्व संकलन गर्ने काम अर्थ मन्त्रालयको हो । राजस्व संकलनमा सफल देखिँदा अर्थलगायत सबै मन्त्रालय खर्चमा भने असफल देखिएका छन् । किनकि चालू आर्थिक वर्ष २०७८-०७९ को सात महिनामा सरकारले १६ प्रतिशतमात्र पुँजीगत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षमा तीन खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको सरकारले माघ मसान्तसम्ममा मात्र ६० अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको छ, जुन गत आर्थिक वर्ष २०७७-०७८ को सोही अवधिमा भएको खर्चभन्दा तीन अर्बले कम हो । गत वर्ष सरकारले सोही अवधिमा ६३ अर्ब अर्थात् लक्ष्यको १७.८१ प्रतिशत खर्च गरेको थियो ।
चालू वर्षमा सरकारले शतप्रतिशत पुँजीगत बजेट खर्च नहुने देखेपछि यसअघि नै अर्धवार्षिक समीक्षा गर्दै पुँजीगत बजेटलाई तीन खर्ब ४० अर्ब रुपैयाँमा झारेको छ, जुन कुल विनियोजित बजेटको ९०.०१ प्रतिशत हो ।
बजेट खर्च हुन नसक्नुका पछाडि विभिन्न कारण रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असोजमा मात्र प्रतिस्थापन विधेयक पारित हुँदा खर्च प्रक्रिया केही पछि धकेलिएको हो । त्यसमाथि आयोजना कार्यान्वयनका लागि मापदण्ड तथा निर्देशिका समयमा तर्जुमा हुन नसक्नु पनि खर्च नहुनुको अर्को प्रमुख कारण रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
साथै कर्मचारीको पदपूर्ति नहुनु, कोरोनाका कारण श्रमिकको आपूर्तिमा असहज हुनु, समयमै वस्तु तथा सेवाको आपूर्ति हुन नसक्नुजस्ता समस्याका कारण आयोजना कार्यान्वयनमा असर परेको मन्त्रालयको निष्कर्ष छ । त्यस्तै वैदेशिक स्रोततर्फ विनियोजन भएका केही आयोजनामा स्रोत परिचालन हुने सुनिश्चतता नभई बजेटमा राखिएको तथा वैदेशिक सहायताबाट सञ्चालित आयोजनामा दातृ निकायले निर्धारण गरेअनुसारको खरिद र लेखासम्बन्धी मागर्दशन पूरा गर्न नसक्दासमेत खर्च हुन नसकेको मन्त्रालयले स्वीकार गरेको छ ।
सरकारले चालू खर्च भने गत वर्षको तुलनामा धेरै गरेको छ । गत आर्थिक वर्षको माघ महिनासम्म लक्ष्यको ४२.८६ प्रतिशत अर्थात् ४ खर्ब ६ अर्ब रुपैयाँ खर्च गरेको सरकारले चालू वर्षमा भने चार खर्ब ७५ अर्ब अर्थात् लक्ष्यको ४४.६५ प्रतिशत खर्च गरेको छ । यस वर्ष १० खर्ब ६५ अर्ब रुपैयाँ चालू बजेट विनियोजन गरेको सरकारले अर्धवार्षिक समीक्षामार्फत १० खर्ब ३५ अर्ब कायम गरेको छ ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ पनि चालू वर्षमा सरकारको खर्च गत वर्षको तुलनामा बढेको छ । गत वर्ष ३० अर्ब अर्थात् १७.४३ प्रतिशत खर्च गरेको सरकारले यस वर्ष ५४ अर्ब अर्थात् २८.८३ प्रतिशत खर्च गरेको छ । यससँगै सरकारले माघ मसान्तसम्ममा कुल बजेटको ३६.२ प्रतिशत अर्थात् पाँच खर्ब, ९१ अर्ब रुपैयाँ खर्च गरेको छ । जुन गत वर्षको तुलनामा झण्डै ९२ अर्बले बढी हो । गत वर्ष लक्ष्यको ३३.८८ प्रतिशत अर्थात् चार खर्ब ९९ अर्ब रुपैयाँ खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्