Logo

काठमाडौं उपत्यकामा पनि देखियो बर्डफ्लु

काठमाडौं उपत्यका र चितवनमा पनि बर्डफ्लु देखा परेको छ । एक महिनाअघि मोरङमा देखिएको बर्डफ्लु काठमाडौं र चितवनमा पनि देखिएको हो ।
पशु सेवा विभागका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवाखानी र चितवनको राप्ती नगरपालिका–६ मा बर्डफ्लु फैलिएको पुष्टि भएको छ । बर्डफ्लु देखिएपछि गोकर्णेश्वरमा २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ लौकाट नष्ट गरिएको विभागले जनाएको छ । त्यस्तै, चितवनमा १ हजार ९ सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस, १ हजार किलो दाना र ३ सय ५० अण्डाको क्रेट नष्ट गरिएको छ । रोग थप फैलन नदिन सुरक्षाका उपायहरु अवलम्बन गर्न पनि विभागले आग्रह गरेको छ । बर्डफ्लु देखि पनि राम्रोसँग पकाएर खाँदा स्वास्थ्यलाई असर नपर्ने पशु चिकित्सकको भनाइ छ ।
बर्डफ्लु देखिएपछि पन्छी फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, घरपालुवा पन्छी हाँस, कुखुरा आदिलाई जंगली तथा अन्य चराहरुको सम्पर्कमा आउन नदिन विभागले आग्रह गरेको छ । पन्छी तथा पन्छी उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाणपत्र दिएरमात्र गर्न र कुनै पनि पन्छी फार्म वा पन्छी बिक्रीस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा तत्काल नजिकको पशु सेवा निकायमा सूचित गर्न विभागले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्