कर्णाली राजमार्ग
नाग्म–जुम्ला खण्ड कालोपत्रे हुँदै

जुम्ला-कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–जुम्ला सडक खण्ड डबल लेन निर्माणसँंगै कालोपत्रे हुने भएको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्म नाग्म–जुम्ला सडक खण्ड चार किलोमिटर सडक डबल लेन निर्माण, नाला छोडेर सात मिटर चौडा गरी कालोपत्रे गरिने छ । दुई ठेक्कामार्फत सडक चौडा, डबल लेन निर्माणको काम भइरहेको छ ।
गत कात्तिकबाट काम सुरु भएकोमा हालसम्म दुवै ठेक्काको ३० प्रतिशत काम सम्पन्न भएको छ । कालिकोटको नाग्मदेखि पूर्व र जुम्लाको रारालिहीदेखि पश्चिमतर्फको जोखिम सडक खण्ड डबल लेन निर्माण, नाला निर्माण र चौडा बनाई स्तरवृद्धिको कामले गति लिएको छ ।
थुदुन कस्न्ट्रक्सन र महादिप खिम्ती अन्जना खड्का जेभी निर्माण कम्पनीले सडक निर्माणको ठेक्का लिएका छन् । सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले भने, “चालू आवभित्रै नाला निर्माण, डबल लेन निर्माण गरी चार किमि सडक कालोपत्रेसमेत गरिसक्ने सम्झौता भएको छ । पाँच÷पाँच करोडको लागतमा दुई निर्माण कम्पन्नीले काम गर्दैछन् । निर्धारित समयमै सडक निर्माण सम्पन्न हुने अपेक्षा छ ।”
जोखिम मानिएको उक्त सडक सडकलाई सुरक्षित बनाउन १० करोड लगानीमा डबल लेन निर्माण गरी कालोपत्रे गर्न लागिएको प्रमुख श्रेष्ठले जानकारी दिए । निर्माण व्यवसायीहरूले प्रतिकूल मौसमका बावजुद पनि सडक निर्माण कार्यलाई गति दिएका छन् । कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न जोखिम खण्डमा सडक स्तरवृद्धिलाई अगाडि बढाइने लक्ष्यसमेत राखिएको छ । सम्झौताअनुसार गुणस्तरीय एवं छिटो छरितो काम अगाडि बढाउन कार्यालयले पनि नियमित निगरानी राखेको र निर्माण व्यवसायीले पनि जिम्मेवारीपूर्वक काम गरिरहेकाले निर्धारित समयमै डबल लेन निर्माण भएर सडक कालोपत्रे हुने अपेक्षा गरिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाइ छ ।
नाग्म–गमगडी सडक ग्राभेल हँुदै
वर्षौदेखि अलपत्र नाग्म–गमगडी सडक खण्डको जिरोदेखि १३ किमिसम्मको सडक ग्राभेल भइरहेको छ । सम्झौताअनुसार काम नभएपछि म्याद सकिए पनि जरिवाना तिराएर पुनः ग्राभेलको काम सुरु गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ । सांसद बहादुर लामाले लिएको उक्त ठेक्का वर्षौंदेखि अलपत्र थियो ।
पछिल्लो समय सडक डिभिजन जुम्लाले ताकेता दिएपछि बल्ल जिरोदेखि १३ किमिसम्मको सडक ग्राभेलको काम सुरु भएको सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले बताए । उनका अनुसार उक्त सडक खण्डको ग्राभेलको काम झण्डै ८५ प्रतिशत सम्पन्न भएको छ भने नाग्म–गमगडीकै १७ देखि २५ किमि खण्ड पनि स्तरवृद्धि भइरहेको छ । नाग्म–गमगडी सडकका विभिन्न खण्ड क्रमागत रुपमा स्तरवृद्धिको काम भइरहेको जनाइएको छ । पुस माघमा चिसो र हिमपातका कारण पूर्वाधार निर्माणमा समस्या देखिएको छ । यद्यपि पूर्वाधार विकास कार्यालय, सडक डिभिजन, सघन सहकारी तथा भवन निर्माणको कार्यालयले आफ्ना कामलाई अगाडि बढाएको छ ।