‘विकास निर्माण समयमै सम्पन्न गर्न संयन्त्र निर्माण गरौं’

प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले विकास निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि अर्थ मन्त्रालयमा समन्वय संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य सुनुवारले राष्ट्रिय गौरवका आयोजनामा आर्थिक अभाव हुन दिन नहुने बताए । राष्ट्रिय गौरवका आयोजनाका साथसाथै निर्माणको अन्तिम चरणमा पुगेका सडकलाई निर्माण सम्पन्न गर्नका लागि अर्थ मन्त्रालयमा समन्वय संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए । साना साना कमीकमजोरीका कारण निर्माण सम्पन्न हुन लागेका सडक निर्माणमा ढिलाइ हुन नदिन सम्बन्धित मन्त्रालयले ध्यान पु-याउनुपर्ने उनले बताए ।
प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले ठूला आयोजनालाई निर्माणका क्रममा आर्थिकलगायतका समस्या हुन नदिनका लागि गुरुयोजना बनाउँदा नै विचार पु-याउनुपर्ने बताए । सम्भावित समस्या तथा अवरोधको अध्ययन गरेर मात्रै टेण्डर आह्वान गर्नसके पछि समस्या नपर्ने उनले उल्लेख गरे । उनले राजमार्गहरू बनाउँदा गुरुयोजना नबनाउने गरेकाले समस्या देखापर्ने गरेको बताए ।