चालु वर्षको द्वितीय त्रैमासमा टेलिकमको नाफा ३ अर्ब ८९ करोड «

चालु वर्षको द्वितीय त्रैमासमा टेलिकमको नाफा ३ अर्ब ८९ करोड


नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले चालु आर्थिक वर्ष २०७८-०७९ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४९ प्रतिशतले नाफा बढाएको हो । कम्पनीले गत वर्षको पुस मसान्तसम्म ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
टेलिकमले गत आवको पुस मसान्तसम्म कुल आय २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेकोमा चालु आवको सोही अवधिमा कुल आय १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार वृद्धि भइ २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार पुगेको छ । गत आवको द्वितीय त्रैमासिकमा कम्पनीको कुल सञ्चालन आय १७ अर्ब ७२ करोड ४९ लाख रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ४८ करोड २३ लाख ३ हजार वृद्धि भई १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ ।
गत आवको द्वितीय त्रैमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक रहेको कम्पनीले जनाएको छ । कम्पनीले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा वृद्धि भएको छ । कम्पनीको एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपीटीभिका ग्राहकहरु वृद्धि भएको कम्पनीले जनाएको छ ।
विश्वव्यापी रुपमा कोभिड १९ विरुद्धको खोप कार्यक्रम पश्चात महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आवको शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको कम्पनीले जनाएको छ ।
कोभिड लक्षित गरी कम्पनीबाट ग्राहकको सुविधाका लागि कम मूल्यमा डेटा प्याकेज उपलव्ध गराएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजस्व वृद्धि हुने अवस्था नरहेको कम्पनीले जनाएको छ । यद्यपी कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापबाट कम्पनीका सेवाहरुप्रति ग्राहक आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको छ ।
त्यसैगरी कोभिडले गदा अन्तर्राष्ट्रिय यात्रा सहज नभई सकेको वास्तविकता तथा ओटटिको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेको कम्पनीले जनाएको छ । यद्यपपि अनलाइन व्यवसाय, अनलाइन कक्षा, इन्टरनेटमा आधारित अन्य व्यवसायमा कम्पनीको भ्वाइस तथा डेटा, एसएमएस र भ्यास सेवामा गत आवमा भन्दा सुधार भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्