प्रेममै संसार अडिएको छ

प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेम र मानवताका पुजारी भ्यालेन्टाइनले प्रेमका निम्ति मृत्युवरण गरेको दिनको सम्झनामा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन डे मनाउन सुरु भएको हो । पश्चिमी मुलुकबाट सुरुवात भएको यो दिवस नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ ।
तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर, भ्यालेन्टाइन भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो— अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । आफैंभित्र भएको कस्तूरीलाई नचिनेर मृग भौंतारिएझैँ हामी आफैँभित्र भएको प्रेम अनुभूत गर्न नसकेर अनेकतिर भौंतारिन्छौं । प्रेम त प्रकृतिमा छ, प्रेम हाम्रै वरिपरि छ अनि प्रेम जता हिंड्यो त्यतै छ । माटोमा, फूलमा, जूनमा, रूखबिरुवामा जतासुकै पनि प्रेमैप्रेम छ ।
वास्तवमा प्रेमले हेर्दा, खोज्दा र अनुभूत गर्दा सबै वस्तुमा प्रेम भेटिन्छ, हरेक अनुहारमा प्रेम भेटिन्छ र हरेक मुस्कानमा प्रेम भेटिन्छ । प्रेम अथाह हुन्छ, यो न दिएर सकिन्छ न लिएर सकिन्छ । धन कमाउने मान्छे कहिलेकाहीँ धनको गरिब बन्न सक्ला तर प्रेम दिने मान्छे कहिले पनि प्रेमको गरिब भएको सुनिएको छैन र देखिएको पनि छैन । प्रेमले गरिबको छाप्रोलाई पनि स्वर्ण महल बनाइदिन्छ । प्रेमबाट प्रभावित नभएको मानव हृदय यो धरतीमा सायदै होला । प्रेम अनन्तः अमर अनि अज्ञात पनि छ । हृदयले गर्ने हार्दिक प्रेमको किस्सा जति सुनाए पनि पुरानो हुँदैन । परिवेश र आवरणहरू मात्र नयाँ र पुराना हुने हुन् । मानव हृदयको प्रेम हिजो पनि नयाँ थियो, आज पनि नयाँ नै छ अनि भोलि पनि नयाँ नै हुनेछ ।
मान्छेभित्र विपरीत लिङ्गप्रतिको प्राकृतिक आकर्षणसँगसँगै विशिष्ट प्रेमभाव पनि हुने गर्छ, त्यसैले नै उ चेतनशील मानिन्छ । बाहिरी रूपसज्जा र आकर्षक शारीरिक बनावट त आँखाका लागि हुन्, तर वास्तविक प्रेम आँखाबाट ओर्लेर हृदयसम्म आइपुग्छ । मनले देखेको प्रेम आँखाले देखेको जस्तो क्षणभंगुर र विनाशशील हुँदैन । वास्तविक प्रेम त मान्छेले आफ्नो बोली, व्यवहार, विचार आदिका माध्यमले अनुभूत गर्ने विषय हो । प्रेम मनका सारा अँध्याराहरूलाई नाश गरी आन्तरिक आनन्दको उज्यालो सिर्जना गर्ने जून हो । प्रेम सुन्दरताको पर्याय हो । सुन्दर वस्तुको सम्पर्कले कुरूपहरूमा पनि आशाको सञ्चार हुन्छ । त्यसकारण प्रेम सुन्दरताको शाश्वत रूप हो । धर्तीको विशालता र व्यापकता प्रेमका विशेषता हुन् । जसरी लाखौं मानिसले थुक्दा, कुल्चँदा र अपमानित तुल्याउँदा पनि धर्ती चुपचाप शान्त र स्थिर रहन्छ, प्रेमलाई जीवनमा उतारेका मानिसहरू पनि त्यस्तै हुन्छन् । जहाँ लिन होइन दिन खोजिन्छ, त्यहाँ सदैव शान्ति र स्थिरता कायम हुन्छ ।
आज हामी जुन ‘प्रेम’को कुरा गर्छौं; त्यो शरीरमै समाप्त भएर गएको छ । आज हामीकहाँ प्रेमविवाह गर्नेहरू अधिकांश सम्बन्धविच्छेद गरेर बस्ने देखिएका छन् । प्रेमको बहानामा विवाहित बनेकाहरू पनि पश्चात्तापपूर्ण जीवन बाँचेका थुप्रै भेटिन्छन् । योभन्दा ठूलो ‘प्रेम’को अपमान अर्को के हुन सक्छ ? प्रेम कहिल्यै पनि समाप्त भएर जाँदैन । हाम्रो शरीर, रूप, आकृति, हाड, छाला, सम्पत्ति सबै सांसारिक वस्तु हुन् । यी बदलिन्छन् बारम्बार र अन्ततः समाप्त भएर जान्छन् । तर, प्रेम यी सबै वस्तुभन्दा पर हुन्छ । वस्तुहरूको अभावमा पनि प्रेम बाँचिरहन्छ । त्यसैले प्रेमलाई अलौकिक मानिएको हो । प्रेमदिवसका सन्दर्भमा व्यक्त गरिने प्रेमका भावनाहरू पनि सतही हुन थाले । प्रेमको मूल्य र अस्तित्व फगत यौनसुखमा बदलिएर गयो ।