Logo

नियमित रेल सञ्चालन फागुन दोस्रो साताबाट


लामो समयदेखि सञ्चालन हुन नसकेको रेल नियमित सञ्चालन हुने भएको छ । गएको पुस अन्तिम साता परीक्षण गरिएको रेल आज (आइतबार) यात्रु नराखी चलाउन लागिएको हो ।
भारतीय प्राविधिकको सहयोगमा जयनगरदेखि कुर्था र कुर्थादेखि पुनः जयनगरसम्म ‘ड्राइ रन’ गर्न लागिएको हो । फागुनको दोस्रो साताबाट नियमित सञ्चालन गर्ने तयारीस्वरुप आइतबारबाट यात्रुबिना कुदाउन लागिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । उनले भने, “केही दिन रेल सञ्चालनको लागि अभ्यस्त हुने गरी कुदाएर नियमित सञ्चालन गर्ने योजना अनुरुप यात्रु नराखी कुदाउन लागिएको हो।” यसरी कुदाउँदा कर्मचारी अभ्यस्त हुने, रेलको वस्तुस्थिति थाहा हुने, स्थानीय स्तरमा जानकारी हुने र ट्रयाक खाली गर्न सहज हुने उनको भनाइ छ । १५ फागुनभित्र रेल सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए । रेल सञ्चालनका लागि कम्पनीले ४५ करोड रुपैयाँ माग गरेकोमा सरकारले चालू आर्थिक वर्षमा २१ करोड रुपैयाँमात्र दिने भएको झाले बताए ।
रेल सञ्चालनका लागि १२ जना भारतीय कर्मचारी आउने र ५९ जना नेपाली कर्मचारी तालिम प्राप्त गरी तयार पारिएको छ । भारतले गएको कात्तिक ५ गते जयनगर–कुर्था सीमापार रेल खण्ड हस्तान्तरण गरेको थियो । रेल नियमित सञ्चालनको उद्घाटन भारत र नेपाल दुवै देशका प्रधानमन्त्रीले गर्ने तयारी रहेको रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.९ किलोमिटर रेलमार्ग बनाइएको छ ।
करिब १५ महिनादेखि त्रिपालले छोपेर राखिएको रेलको वस्तुस्थिति परीक्षण गरिएको कम्पनीले जनाएको छ । रेल सेटको इन्जिन परीक्षण गरिएको र आन्तरिक तयारी पूरा भएकोले चाँडै नियमित रेल सेवा सञ्चालन हुने कम्पनीको भनाइ छ । भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैयाँमा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर– बिजलपुरा–बर्दिवास रेलमार्गकै एक हिस्सा हो । जयनगर–कुर्था खण्डमा ८ वटा स्टेसन रहेका छन्, जसमा जनकपुरको ऐतिहासिक महत्वको सहर पनि सामेल छ । सञ्चालनमा आएलगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गेज सीमापार रेलमार्ग हुनेछ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरुलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ हुने विश्वास लिइएको छ ।
नेपालले भारत सरकारसँग जीटूजी अन्तर्गत दुई थान रेलको कुल रकम भ्याटबाहेक करिब ८५ करोड रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग खरिद गरेको थियो । १३ सय यात्रु क्षमता भएको रेल दैनिक ६ पटक अप एन्ड डाउन (जयनगर–कुर्था) गर्न सक्ने छ । गत साउनमा उक्त रेलको स्पिड परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्