Logo

थाहाको ध्यान पूर्वाधारदेखि कृषि आधुनिकीकरणसम्म

प्रदेश – बागमती
जिल्ला – मकवानपुर
स्थानीय तह – थाहा नगरपालिका
मेयर – लवशेर विष्ट
उपमेयर – खड्ग गोपाली
नगरपालिका केन्द्र – इन्द्रायणीचौर
वडा संख्या – १२
जनसंख्या – ४१,६२३ (२०६८ को जनगणनाअनुसार)
क्षेत्रफल – १९१.१२ वर्गकिमि

जनतालाई सुसूचित एवम् जागरूक बन्न अभिप्रेरित गर्ने थाहा अभियानका अभियन्ता स्वर्गीय रूपचन्द्र विष्टको स्मरणमा नेपाल सरकारको २०७१ वैशाख २५ गतेको निर्णयले मकवानपुरको उत्तरी क्षेत्रका तीनवटा गाविस समेटेर थाहा नगरपालिका स्थापना गरिएको हो । सुरुमा दामन, पालुङ र बज्रबाराहीलाई समेटेर नगरपालिका घोषणा गरिएकोमा २०७३ सालमा चित्लाङ, आग्रा र टिस्टुङ गाविस समेटिएको थियो । पर्यटकीय नगरीका रूपमा परिचित थाहा नगरपालिकाको दामन भ्युटावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित २५ भन्दा बढी उच्च हिमशिखरहरूको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ । आकर्षक पदमार्ग, शीतोष्ण हावापानी, विभिन्न धार्मिक स्थलहरू, प्रशस्त जैविक विविधताजस्ता सम्पदाहरू यहाँ रहेका छन् । कृषिमा पनि यो क्षेत्र प्रख्यात छ । नगरमा वार्षिक १ अर्बभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ । काठमाडौं र तराई जोड्ने मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथ यसै नगरलाई छिचोलेर जान्छ ।
मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा भएको निर्वाचनबाट जब जनप्रतिनिधिहरू निर्वाचित भएर आए, त्यतिखेर एकतले प्रशासनिक भवन थियो । वडागत विभाजन भए तापनि वडामा कुनै संरचना नै थिएनन् । मेयर र उपमेयरले प्रशासनिक भवनको एउटा कोठा बारेर कार्य सञ्चालन सुरु गरे । पछि इन्द्रायणीचौरमा पाँचतले प्रशासनिक भवन निर्माण गरियो । प्रशासनिक भवनसम्म जाने बाटो पनि पिच गर्नुका साथै सबै वडा कार्यालयहरू पनि निर्माण सम्पन्न गरी वडाबाट सहज सेवा सुरु गरियो । “त्यतिखेर हामी यति धेरै आवश्यकताहरूका बीचमा थियौं कि त्यसअघि कुनै सरकार छँदै थिएन भन्ने आभास हुन्थ्यो । बिस्तारै नागरिकका आवश्यकतालाई प्राथमिकताका आधारमा धेरै पूरा गरिसकेका छौं ।” थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने ।
नगरपालिकाले पूर्वाधार विकासतर्फ दुईवटा मोटरेबल पुल निर्माण सम्पन्न गर्ने क्रममा रहेको छ । वैशाखसम्म सम्पन्न भएर उद्घाटन हुने बताइएको छ । आग्राको चल्तीसम्म जोडिने बाटाको निम्ति पुल निर्माण सम्पन्न हुने चरणमा छ । त्यसैगरी वडा नम्बर ३ बाट वडा नम्बर २ जाने बाटोको घर्तीखोलामा करिब ८ करोडको लागतमा पुल निर्माण सम्पन्न हुँदै छ । अरू दुईवटा ठूला पुलहरू पनि स्वीकृत भई डीपीआर तयार हुने क्रममा छन् । दामन डाँडाबास सडकको घर्तीखोलामा र वडा नम्बर ५ को तसरमा मोटरेबल पुल बनाउन स्वीकृत भएको छ । यसै आर्थिक वर्षभित्र निर्माण सुरु हुने मेयर विष्ट बताउँछन् ।
कुन्छाल–कुलेखानी सडक जुन २०३३ सालमा कुलेखानी जलाशय बनाउनका लागि सहायक राजमार्गको रूपमा विकास भएको थियो, उक्त सडक वर्षौंदेखि अलपत्र अवस्थामा रहेको थियो । अहिले सहरी विकास कार्यालयसँग समन्वय गरी कुन्छालबाट टौखेलसम्म १० किलोमिटर स्तरीकरण गरी पिच गर्न ३० करोड लागत अनुमानसहित डीपीआर भई काम सुरु भइसकेको छ । गत वर्ष १० करोड रुपैयाँ स्वीकृत भई ३ किलोमिटर बाटो पिच भइसकेको छ । यस वर्ष पनि १५–२० करोडको बजेट प्राप्त हुने आश्वासन प्राप्त भएको विष्टको भनाइ छ । यसै वर्ष त्यो सडक पूरा पिच हुनेमा उनी विश्वस्त छन् ।
“हामी आएपछि हरेक वडामा ५ किलोमिटर सडक पिच गर्ने योजना बनाएर अघि बढेका थियौं । १२ वटा वडामा ६० किलोेमिटर बाटो पिच गर्ने हाम्रो लक्ष्य थियो । त्यसमध्ये धेरै वडामा बाटो पिच भएको छ,” मेयर विष्टले भने । जनप्रतिनिधि निर्वाचित भएर आएको तेस्रो वर्षदेखि कोरोना महामारी सुरु भएकाले महामारी रोकथाममै आफूहरू केन्द्रित हुनुपरेको उनले सुनाए । त्यसमा धेरै लगानी पनि गर्नुपरेकाले अन्य विकास निर्माणका कामहरू केही प्रभावित भएको नगर प्रमुख स्विकार्छन् । स्वास्थ्य क्षेत्रको विकासमा पनि धेरै काम भएका छन् । वडा नम्बर ३ बाहेक अन्य ११ वटै वडामा स्वास्थ्य संस्था निर्माण गरी सेवा दिइरहिएको छ । वडा नम्बर ३ र ४ को बीच भागमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङलाई स्तरोन्नति गरी १५ शय्याको प्रस्तावित अस्पताल सञ्चालनमा छ । त्यहाँ विशेषज्ञ डाक्टरहरू पनि रहेका छन् ।
प्रस्तावित अस्पतालमा विभिन्न जाँचका लागि प्रयोगशाला ल्याब, आधुनिक एक्सरे मेसिन जडान गरिएको छ । त्यसैगरी स्थायी अस्पतालका निम्ति १२ करोड १५ लाख रुपैयाँको लागतमा सम्झौता भई काम भइरहेको छ । अबको करिब एक वर्षभित्र १५ शय्याको स्थायी अस्पताल संरचना तयार हुने बताइन्छ । कोरोना महामारीमा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाएका कारण अक्सिजन प्लान्ट निर्माणका लागि नगरपालिकाले ५५ लाख रुपैयाँ छुट्ट्याएका थियो । “त्यो रकमले प्लान्ट स्थापना गर्न बजेट नपुग्ने भएका कारणले हामीले स्वास्थ्य मन्त्रालयसँग अनुरोध ग-यौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले १ करोड रुपैयाँ बजेट स्वीकृत गर्न तोक लगाइदिनुभएको छ । अबको केही दिनमा उक्त बजेट स्वीकृत भएर आउने विश्वास लिएका छौं,” मेयर विष्टले सुनाए ।
अक्सिजन प्लान्ट निर्माण गर्न अबको एक हप्ताभित्र १ करोड ६५ लाख रुपैयाँको ठेक्का लगाउने तयारी छ । अक्सिजन प्लान्ट भवन निर्माण गर्न प्रदेशको स्वास्थ्य मन्त्रालयबाट १२ लाख रुपैयाँ पनि विनियोजन भइसकेको छ । अक्सिजन उत्पादन सुरु भएपछि नियमित अक्सिजन लगाउनुपर्ने दमका बिरामीहरूलाई निःशुल्क अक्सिजन पनि उपलब्ध गराउने नगरपालिकाले योजना बनाएको छ । आग्रा स्वास्थ्यचौकी, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र बज्रबाराही स्वास्थ्य केन्द्र र टिस्टुङमा ल्याब सञ्चालनमा आइसकेको छ ।
शिक्षा क्षेत्रमा पनि सुधारका प्रयासहरू भएका छन् । सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै गइरहेको अवस्थामा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकहरूसँग धेरै चरणमा छलफलहरू गरिएको छ । विद्यार्थीको सिकाइस्तर वृद्धिका लागि धेरै काम गरेको मेयर विष्टको दाबी छ । ‘बिस्तारै शिक्षा क्षेत्रमा सुधार हुँदै आएको छ । यो सुधार एकैचोटी देखिने कुरा होइन । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा त्यत्तिकै समस्या भएको छ,” विष्टले भने । यस अवधिमा करिब ४० वटा शैक्षिक संस्थाका भवनहरू बनिसकेका छन् ।
नगरमा खानेपानीको पनि निकै समस्या थियो । २०७२ सालको भूकम्पपछि पानीका मुहानहरू सुकेर जाँदा धेरै जनसमुदायले खानेपानीको असुविधा भोग्दै आएका थिए । १० नम्बर वडाका करिब ६ सय घरधुरी खानेपानी सुविधाबाट वञ्चित भएका थिए । गैरसरकारी संस्थासँग मिलेर २ करोड ५६ लाख रुपैयाँको योजना सञ्चालन गरी डिप बोरिङमार्फत पानी निकालेर घरघरमा खानेपानी सुविधा पु-याइएको छ ।
वडा नम्बर ६ को बज्रबाराहीमा पनि करिब ५ सय घरधुरीलाई खानेपानी सेवा पु¥याइएको छ । वडा नम्बर ७, जहाँ पानीको अत्यन्त संकट थियो, त्यहाँ करिब ६ करोड रुपैयाँ लागतमा लिफ्टिङ खानेपानी योजना कार्यान्वयन भइरहेको छ । त्यो पनि सम्पन्नको चरणमा पुगेको छ । त्यसमा प्रदेश सरकारको ७० लाख, जिल्ला समन्वय समितिको डेढ करोड रुपैयाँ र बाँकी रकम च्वाइस नेपाल संस्थाले हालिदिएको छ ।
त्यसैगरी आग्राको दामगाडे खानेपानी आयोजना पनि निर्माणाधीन छ । करिब १ करोड ९० लाख रुपैयाँ लागतमा उक्त आयोजना निर्माण भइरहेको छ । त्यस्तै थाहा नगरपालिकाको केन्द्रमा करिब ३ हजार घरधुरीलाई खानेपानी सेवाका लागि संघीय सरकारबाट २६ करोड रुपैयाँ स्वीकृत भएको छ । खानेपानी पाइप पनि खरिद भइसकेको छ । स्थानीय सरकारले पनि ३० लाख रुपैयाँ त्यसमा लगानी गरेको छ र बाँकी काम गर्न यस वर्ष ठेक्का लागिसकेको छ । टिस्टुङमा पनि खानेपानी सुविधाका लागि धेरै काम भएका छन् । अब नगरपालिकामा खानेपानीको समस्या करिब हल भइसकेको मेयर विष्टको भनाइ छ ।
पर्यटन विकासका लागि थाहा पर्यटन पार्क निर्माण गरिएको छ ।
अबको केही महिनाभित्र टिकटसहित पार्कमा प्रवेश गराउने योजना नगरपालिकाले बनाएको छ । प्रदेश सरकार र नगरपालिकाको करिब साढे ५ करोड रुपैयाँ लगानीमा थाहा पर्यटन पार्क निर्माण गरेको हो । थाहा पर्यटन पार्कभित्रै पनि कोसेली घर पनि निर्माण भएको छ । करिब ५० लाख रुपैयाँमा भवन निर्माण भएको छ । “स्थानीयले सिकेका सीपमार्फत उत्पादन भएका वस्तुहरूले बजार नपाउँदा समस्या भोगिरहेका कारण कोसेली घरमार्फत हामीले स्थानीय सामग्रीको बिक्री केन्द्र स्थापना गरेका हौं । बिक्री केन्द्रमा राखेका सामग्रीहरू बिक्री भएन भने नगरपालिकाले त्यसबापतको रकम भुक्तानी गरिदिने व्यवस्था पनि गर्न लागेका छौं,” मेयर विष्टले सुनाए । थाहा नगरको सिमभन्ज्याङदेखि भीमफेदीसम्म केबलकार सञ्चालन गर्ने दीर्घकालीन योजना पनि नगरपालिकाले बनाएको छ ।
थाहा नगरपालिकामा एउटा व्यवस्थित बसपार्क पनि निर्माण भएको छ । थाहा नगरपालिका–४ स्थित थाना बजारबाट नजिकै उक्त बसपार्क निर्माण भएको छ । पशुपालन र कृषिको क्षेत्रमा पनि धेरै काम गरेको नगर प्रमुख विष्टको भनाइ छ । थाहा नगरपालिका विशेष गरी कृषिको उर्वर भूमि मानिन्छ । यहाँ आलु उत्पादन अत्यन्तै राम्रो हुन्छ ।
तर, यहाँका किसानले आलुको बीउका लागि काठमाडौं, नारायणगढ वा हेटौंडा धाउनुपर्ने अवस्था रहेको थियो । भनेको जस्तो बीउ नपाउँदा उत्पादनमा समेत प्रभाव पर्ने अवस्था थियो । जसले गर्दा थाहा नगरमै कोल्ड स्टोर निर्माण गर्नुपर्ने माग थियो । अब भने थाहा नगरमै कोल्ड स्टोर निर्माण भएको छ । प्रदेश सरकार, थाहा नगरका सहकारीहरू र नगरपालिकाको समन्वयमा ११ करोड ४७ लाख रुपैयाँको लागतमा कोल्डस्टोर भवन निर्माण करिब अन्तिम चरणमा पुगेको छ । चिस्यानका लागि चाहिने सामग्रीहरूको खरिदका लागि करिब ६ करोड रुपैयाँको ठेक्काको आह्वान भइसकेको छ । अबको एक–दुई महिनाभित्र सम्झौता भई सामान खरिद हुने बताइएको छ ।
हिजो कृषिका लागि गोरु पाल्ने, गोरु जोत्ने परम्परा थियो भने अहिले गोरु विस्थापन गर्दै हाते ट्याक्टरले सहज रूपमा खेती लगाउन सक्ने वातावरण बनाइएको छ । दामन, पालुङ क्षेत्रमा त सबै ठाउँमा ट्याक्टरले नै जोतेर खेती हुन्छ । सुर्का बारी भएका ठाउँहरूमा पनि हाते ट्याक्टरको प्रयोग गर्न किसानलाई विभिन्न अनुदानहरू दिइएको छ । विषादी छर्ने मेसिन, हाते औजारहरू नगरपालिकाले अनुदानमा वितरण गर्दै आएको छ । आलुको उत्पादन बढाउन नयाँ आलुको बीउ पनि सहकारीमार्फत किसानलाई वितरण गर्ने तयारी गरेको नगर प्रमुख विष्टले बताए । पशुपालनको क्षेत्रको विकासका लागि पनि भैंसी पकेट क्षेत्र, गाई पकेट क्षेत्र घोषणा गरी पशुपालन प्रवद्र्धन गरिरहिएको छ ।
नगरको वडा नम्बर १२ को जगडाँडामा गत वर्ष २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋणमा २० वटा भैंसी वितरण गरिएको थियो । अहिले त्यहाँका किसानहरू भैंसी पालेर आम्दानी लिन थालेका छन् । त्यहाँ चिस्यान केन्द्र पनि स्थापनाको तयारी छ । बजारसम्म दूध ल्याउनका लागि अटोको समेत व्यवस्था नगरपालिकाले गरिदिएको छ । दूध बिक्री नभएमा घरमै मिठाई बनाउनका लागि मिठाईको तालिम दिने योजना पनि नगरपालिकाले बनाएको छ । आग्राको डाँडाबास, मोरिया हुँदै धादिङको माधवबेसी जाने २८ किमि सडक निर्माण गर्न करिब १ अर्बको समपूरक योजना समावेश भएको छ । उक्त योजना स्वीकृत भई निर्माण भएमा आग्राका स्थानीयको जीवनस्तर धेरै नै सुधार हुने विश्वास लिइएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा ९५ करोड ६४ लाख ३२ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । नगरको १२ वटै वडामा प्रतिवडा ५ किलोमिटरका दरले ६० किलोमिटर सडक पक्की गर्ने योजनालाई निरन्तरता दिँदै बजेट बनाएर कार्यान्वयनमा छ । नगरभरका काठको विद्युत् पोल विस्थापन गर्ने, थाहा–३ स्थित कालाभैरव चौरमा निर्माणधीन थाहा शीतभण्डार निर्माण कार्यलाई सम्पन्न गर्ने जस्ता योजनाहरू प्राथमिकीकरण गरिएका छन् । संघीय सरकारबाट थानकोट–चित्लाङ सुरुङमार्ग निर्माण गर्न तत्काल सुरुवातका लागि पहल गरिने र थाहा नगरपालिकाको सडक चक्रपथ निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने पनि बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्