Logo

धनुषाका ४६७ घर परिवारलाई लालपूर्जा वितरण


भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्न काम गरिहेको बताएकी छिन् ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वास्तविक भूमिविहीन भूमि पाउनबाट बन्चित हुन नपरोस भनेर अभियान सञ्चालन गरेर सरकारले लालपूर्जा वितरण थालेको बताइन् ।
मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपूर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै वास्तविक भूमिहीन कोही पनि भूमि प्राप्त गर्नबाट बन्चित नहुने बताइन् । उनले लालपूर्जाको अभावमा नागरिकतासमेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइरहेको अवस्थाको अन्त्य हुनु पर्नेमा समेत जोड दिइन् ।
“भूमिविहीनलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडी बढिरहेको छ” उनले भनिन्, “संविधानमा व्यवस्था भएको भूमिहीन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम समेत सुरू भइसकेको छ ।”
उनले राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम सुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको पनि जानकारी दिइन् ।
२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँव्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्