भूमि आयोग गुल्मीद्वारा रणनीति सार्वजनिक

गुल्मी-राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले आगामी रणनीति सार्वजनिक गरेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीले आगामी रणनीति सार्वजानिक गरेका हुन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले अब लगत्तै स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सबै सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने रणनीति बनाएको छ । स्थानीय तहमा भएका भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको लगत संकलन गरेर उनीहरुलाई जग्गा प्रदान गर्ने कार्यक्रम पनि रणनीतिको रुपमा अगाडी बढाउने राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष ठकुरीले जानकारी दिए ।
विद्यालय र मन्दिरको जग्गा नक्सांकन गर्ने, वास्ताविक सुकुम्बासीको पहिचान गरेर कसैलाई नछुटाई जग्गा दिलाउने र आफ्नो कार्यकालमा सकेसम्म भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीको अन्त्य गर्ने रणनीति भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जनाएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीमा ८ जना कर्मचारीले भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गा दिलाउन काम गर्ने छन् । जसमा ४ जना राजनीतिक दलबाट नियुक्त हुने छन् ।
अहिले पर्याप्त जग्गा नहुनेलाई राष्ट्रिय भूमि आयोगले कृषि गर्न चाहनेलाई सार्वजनिक जग्गा दिने भएको छ । अव्यवस्थित बसोबासीलाई २ रोपनीका दरले जग्गा प्रदान गरिने प्रावधान रहेको छ ।
गुल्मीमा ४ सय ३५ जना भूमिहीन दलित, ३ सय ९० जना भूमिहीन सुकुम्बासी र १ हजार ४ सय ४४ जना अव्यवस्थित गरेर २ हजार २ सय ६९ जना भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरु रहेका छन् ।