व्यावसायिक केरा खेतीबाट आम्दानी

म्याग्दीमा परम्परागत खेतीलाई विस्थापित गर्दै युवाहरु व्यावसायिक कृषि र पशुपालनमा लागेका छन् ।
कोरोना महामारीपछि वैदेशिकलगायतका रोजगारी गुमेपछि आम्दानीका स्रोत बनाउन पुर्खाहरुको जग्गामा युवाहरुले परिश्रम गर्ने क्रम बढेको छ । युवाहरुले सुन्तला, केरा, किवीसँगै तरकारी र पशुपालनलाई पेशा बनाएर नियमित आम्दानी स्रोतको रुपमा विकास गर्न लगानी गरेका छन् ।
रघुगंगा गाउँपालिका– २ रिसिन चौतारीका बलबहादुर विक, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले परम्परागत खेतीलाई परिवर्तन र बाँझो जमिनलाई सदुपयोग गरेर व्यावसायिक केरा खेती अघि बढाएका छन् । विकले ९ रोपनीजग्गामा र कटुवालले १२ रोपनी जग्गामा गरेको केरा खेतीबाट आम्दानी सुरु भएको छ । कटुवालले केरासँगै कुखरा पालन गरेका छन् । कटुवालले यस वर्ष केरासँगै विरुवा पनि बिक्रीबाट आम्दानी गरेका छन् ।
यसअघि परम्परागत रुपमा मात्र हुने गरेको केरा खेती पछिल्लो समय व्यावसायिक रुपमा विस्तार भएसँगै युवाहरुको आम्दानीको स्रोत पनि बढेको छ ।
“यहाँ स्थानीय बालबक, नङ्ग्रे, मुरे, ध्रुसे लगायतका केरालगाएका छौं, स्थानीय कृषक बलबहादुर विकले भने, वर्षैपिच्छे उत्पादन भएका विरुवा विस्तार गरिरहेका छौं ।”
घर नजिक स्थानीय सरकारले सडक पहुँच पु¥याएपछि उत्पादन भएको केरा बैसरी, गलेश्वर, बेनी, मुस्ताङ लगायतको बजारमा पढाउँदै आएको उनले बताए । केरा बिक्रीबाट वार्षिक डेढ लाख आम्दानी हुने गरेको बताए ।