Logo

झोलुङ्गे पुल बगाएपछि समस्यामा थलारावासी

बझाङ- बझाङको थलारा गाउँपालिका–१ का ५० वर्षीय दत्त गिरी गत मंसिर ३ गतेसम्म घर नजिकैको झोलुङ्गे पुलबाट आफ्नो खेतबारीमा उत्पादन भएका कृषिउपज बजार पु¥याउने र त्यहाँबाट उपभोग्य सामान किनमेल गरी ल्याउँथे ।
उनी मात्र होइन्, थलारा गाउँपालिका साविकको दङ्गाजी गाविस–१ का स्थानीयवासी र डोटी जिल्लाको छपालीका बासिन्दा पनि आवतजावत गर्ने झोलुङ्गे पुल गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएपछि अहिले उनीहरु समस्यामा परेका हुन् ।
रेगम र देउरा बजार जोड्ने सो झोलुङ्गे पुल बगाएपछि थलारा गाउँपालिका¬—१ का स्थानीयवासीलाई अहिले कृषि उपज बजारसम्म पु-याउन कठिन भइरहेको बताइएको छ ।
केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताए । त्यही काठे पुल पनि जोखिममा रहेको छ । सो पुलबाट यहाँका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ । अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीकोे माग छ ।
बझाङ जिल्लाको मात्रै नभई छिमेकी जिल्ला डोटीका नागरिकको पनि मुख्य बजारका रुपमा देउरा बजार भएकाले उक्त साँघुबाट धेरै मानिस चहलपहल तथा आवतजावत गर्दछन् । झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको र पुल बनाउनका लागि थलारा गाउँपालिकाले पहल गरिरहेको बताइएको छ । यसका साथै गाउँपालिकाले सो पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष आवश्यक प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्