Logo

सुर्खेत मेडिकल कलेज स्थापनामा विलम्ब

सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि कार्यालय स्थापना भएको तीन वर्षपछि गुरुयोजना निर्माणको काम सुरु भएको छ । गुरुयोजना निर्माणको प्रारम्भिक चरण अन्तर्गत अहिले सर्भे भैरहेको छ भने आउँदो सातादेखि वातावरणिय प्रभाव मूल्यांकन (इआइए) को काम सुरु हुने आयोजनाले जनाएको छ ।
आर्थिक वर्ष २०७३-०७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा संघीय सरकारले एक प्रदेश एक सरकारी मेडिकल कलेज अवधारणालाई निरन्तरता दिँदै आएको छ । त्यसै अन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने सरकारको योजना छ । मेडिकल कलेजका लागि पूर्वाधार निर्माण आयोजना स्वीकृत गरेको समेत तीन वर्ष पुगिसकेको छ । तर आयोजनाको कामले उचित गति भने लिन सकेको छैन् । विसं २०७५ फागुन ३ गते मन्त्रिपरिषद्ले मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयका आधारमा विसं २०७६ जेठमा वीरेन्द्रनगरमा ‘सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास कार्यालय’ स्थापना भयो । बर्सेनी बजेटमा विनियोजन हुँदै आएपनि सुर्खेतमा मेडिकल कलेजको पूर्वाधार निर्माणमा भने हालसम्म प्रगति भएको छैन । सुरुमा जग्गा पहिचानमै अल्झिएको आयोजनाले अब भने वीरेन्द्रनगर ११ को गाग्रेल ताल र १३ को बतासे डाँडामा संरचना बनाउनेगरी गुरुयोजना निर्माणका काम थालेको छ ।
गुरुयोजनाको प्रारम्भिक रिपोर्ट प्रस्तुत भएपछि मात्रै इआइए को काम सुरु हुने आयोजनाका इन्जिनियर शंकर तिमिल्सेनाले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा सर्भेका लागि साढे तीन महिना र इआइएका लागि छ महिना समय लाग्छ । मंसिर अन्त्यतिरबाट सर्भेको काम सुरु भएको हो भने यसै महिनाको अन्त्य तिरबाट मात्रै इआइए सुरु हुने इन्जिनियर तिमिल्सेनाले जानकारी दिए । चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्याङ्कन र गुरुयोजना निर्माणको काममात्रै सम्पन्न संभवाना रहेको उनको भनाइ छ । आउदो आर्थिक वर्षको सुरुमै विस्तृत परियोजना रिपोर्ट (डिपिआर) को काम हुने इन्जिनियर तिमिल्सेनाले बताए । गुरुयोजना र इआइए सकिएपछि मात्रै जग्गा प्राप्तिको प्रक्रिया सुरु हुनेछ ।
सुरुमा वीरेन्द्रनगर नगरपालिका वडा नं ११, १२ र १३ मा पर्ने गाग्रेताल वन क्षेत्रको जग्गामा अस्पताल बनाउने भनिएपनि प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७६ मङ्सिर ४ गते नयाँ स्थानमा संरचना बनाउन समय धेरै लाग्ने भन्दै कालागाउँस्थित प्रदेश अस्पताललाई नै सुर्खेत शिक्षण अस्पतालका रूपमा आवश्यक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न सहमति दिएको थियो । तर संघीय सरकारले प्रदेशको उक्त प्रस्तावमाथि कुनै निर्णय दिएन् । अहिले उक्त जंगल क्षेत्रमै अध्ययनको सुरु भएको छ ।

छरितो बाटो रोज्न सुझाव
तीन–चार वर्षसम्म जग्गा पहिचान नै गर्न नसक्नुले संरचना बनाएर मेडिकल कलेज स्थापना गर्न अझै धेरै समय लाग्ने भन्दै सरोकारवालाहरुको चिन्ता छ । प्रदेश अस्पताल र मध्यपश्चिम विश्व विद्यालयसंग जोडेर जाँदा सुर्खेतमा तत्काल मेडिकल कलेज स्थापना हुनसक्ने डा.नवराज केसीको सुझाव छ । मेडिकल कलेज स्थापनाका बिषयमा सरोकारवालाहरुसंग प्रर्याप्त छलफल समेत नभएको बताउँछन् । ‘जग्गा मात्र खोजेर भएन त्यसपछि चाल्नुपर्ने पाइला अझै धेरै छन’ डा. केसी भन्छन्,‘जसरी जग्गा खोज्न यति समय लागेको छ जग्गा खोजिसकेपछि पनि टाइम लाग्ला फेरी त्यसैले मध्यपश्चिम विश्व विद्यालय र प्रदेश अस्पतालसंग सहकार्य गरेर अगाडी बड्न आवश्यक छ ।’ शैक्षिक अभियन्ता गेहेन्द्र प्रसाद दाहाल पनि प्रदेश अस्पतालको संरचनालाई प्रयोग गरे तत्कालै एमडीसम्मको अध्यापन सुरु गर्न सकिने बताउँछन् । ‘नयाँ संरचनापछि मात्रै शैक्षिक कार्यक्रम सुरु गर्ने हो भने एउटा पुस्ताले नै पढ्न नपाउने अवस्था आउँछ,’ उनले भने ‘तर प्रदेश अस्पतालको संरचनालाई प्रयोग गरेर गर्ने हो भने तत्कालै एमडीसम्मको पढाइ सुरु गर्न सकिन्छ यता थप संरचना बनाउँदै पनि जानुपर्छ ।’
पूर्वाधार निर्माणका लागि सुरुवातमै भैरहेको ढिलाईले गर्दा मेडिकल कलेज चाँडै सञ्चालनमा आउनेमा कर्णालीवासीमा शंका उब्जिएको छ । स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा लामोसमयदेखि क्रियाशिल विनोद ढकाल प्रदेश सरकार र संघीय सरकारबीचको समन्वयको अभावले गर्दा पनि मेडिकल कलेज स्थापनामा ढिलाई भैरहेको बताउँछन् । सुर्खेतमा चाँडो मेडिकल कलेज स्थापनाका लागि राजनीतिक पैरबीको पनि खाँचो रहेको ढकाललको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्