स्थानीय नहुँदा न्यानो कपडा वितरण कार्य प्रभावित

मनाङ – हिमाली जिल्ला मनाङमा न्यानो कपडा वितरण कार्य प्रभावित भएको छ । अत्याधिक चिसोका कारण अधिकांश स्थानिय जिल्ला छाडेर अन्यत्र गएपछि न्यानो कपडा वितरण कार्य प्रभावित भएको हो ।
सरकारले हिमाली जिल्लाका विपन्न परिवारका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत न्यानो कपडा वितरण गर्ने कार्यक्रम भए पनि चिसो बढेसँगै स्थानिय नहुँदा कार्यक्रम प्रभावित भएको हो । अधिकांश जिल्लाबासी चिसो बढेसँगै जिल्ला छोडेर अन्यत्र जाँदा विपन्नको तथ्याँकनै पाउन नसकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले चार लाख मूल्य बराबरको न्यानो कपडा खरिद गरी जिल्लाभरका स्थानीय तहका गरिब र विपन्न परिवारका सदस्यलाई वितरण गर्ने दायित्व जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो । त्यसका लागि जिल्लाका सवै स्थानिय तहहरूलाई विपन्न परिवारको तथ्याँक माग गरिएको तर हालसम्म एकिन तथ्यांक प्राप्त नभएको मनाङ प्रशासनले जनाएको छ ।
सरकारले चिसो, हिमपात र शितलहरबाट नागरिकको जीवन जोखिममा पर्न नदिन तराइका जिल्लालाई आठलाख, पहाडका जिल्लालाई ६ लाख र हिमाली जिल्लालाई चारलाख रुपैयाँका दरले न्यानो कपडा खरिद गरी गरिव र विपन्न परिवारका सदस्यलाई वितरण गर्ने व्यवस्था गरेको थियो । सोही अनुरुप हिमाली जिल्ला मनाङका लागि प्राप्त चार लाख बजेटबाट न्यानो कपडा खरिद गरी वितरण गर्ने कार्यक्रम रहेको प्रशासन कार्यालयले जनाएको छ ।
चिसो बढेसँगै हिमाली जिल्ला मनाङका अधिकांश स्थानिय जिल्ला छाडेर अन्यत्र जाने गर्छन । अत्याधिक चिसोका कारण मनाङमा निकै जाडो हुने गर्दछ । जाडोका कारण मनाङमै रहेका नागरिकहरूलाई घर बाहिर निस्कन समेत कठिन हुन्छ । माथिल्लो क्षेत्रमा हिउ“ पर्न शुरु भएपछि अत्याधिक चिसो हुने भएकोले घर कुरुवा केही ब्यक्ति र गोठालाहरू राखेर अधिकांस मनाङ्गीहरू लमजुङ, काठमाडौं, पोखरा, चितवनलगायतका जिल्लामा पुग्ने गरेका छन् ।
न्यानो कपडा वितरण कार्यविधी अनुसार प्रत्येक वडाले आफ्नो वडाभित्र रहेका गरिब र विपन्न परिवारलाई न्यानो कपडा पाउनेको सूची तयार गरी सम्बन्धित पालिकामार्फत प्रशासन कार्यालयलाइ सिफारिस गर्नुपर्छ । सम्बन्धित वडा र पालिकामार्फत प्राप्त भएको सिफारिसका आधारमा न्यानो कपडा पाउन योग्यहरूको सूची तयार गरी प्रशासन कार्यालयले न्यानो कपडा वितरण गर्ने गर्छ ।
न्यानो कपडा वितरणका लागि आवश्यक रकम प्राप्त भइसकेको र अब स्थानीय तहबाट तथ्यांक प्राप्त भएलगत्तै कपडा वितरण गरीने प्रजिअ आचार्यले बताए । चिसोका कारण मनाङमा ताल, बगिरहेका खोला, झरना तथा पाईपको पानी समेत जम्ने गर्छ । धारा तथा पाइपमा समेत पानी जमेपछि मनाङको जनजिवन कष्टकर बन्ने गर्दछ । चिसो मौसममा माथिल्लो मनाङमा तापक्रम माइनस २० डिग्री सेन्टीग्रेट भन्दा तल हुने गरेको छ ।