Logo

लमजुङको रम्घाको दुईपिप्लेमा प्रशासन कार्यालय राख्ने तयारी

लमजुङ – पश्चिम लमजुङमा रहेको मध्यनेपाल नगरपालिकाअन्तर्गत दुईपिप्लेमा छुट्टै इलाका प्रशासन कार्यालय स्थापनाका लागि सिफारिस भएको छ । प्रशासन कार्यालयबाट गरिने सेवा सुविधालाई अझै प्रभावकारी बनाउन मध्यनेपाल–४, दुईपिप्लेमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि गृह मन्त्रालयमा सिफारिस भएको हो ।
मध्यनेपाल नगरपालिका अन्तर्गत सवै वडाहरुलाई समेत प्रशासनिक सेवा प्रवाहलाई सहज बनाउन दुईपिप्लेमा छुट्टै इलाका प्रशासन कार्यालय माग गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । सिफारिसअनुसार काम भएमा मध्यनेपाल नगरपालिका अन्तर्गतका सबै वडाका नागरिकहरुलाई प्रशासनिक सेवा लिन सहज हुने प्रजिअ बैद्यको भनाइ छ । इलाका प्रशासन कार्यालयका लागि जिल्लास्थित सुरक्षा समितिको बैठकबाट निर्णय गरी गृह मन्त्रालयमा सिफारिस भएको हो । भौगोलिक रूपमा अपाएक पर्ने मध्यनेपाल नगरपालिकाको लागि हालको सदरमुकामबाट पर्ने दुरी, स्थानिय जनसंख्या, हालको सदरमुकाम आईपुग्न लाग्ने समय र दुईपिप्लेमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि घट्ने हुने सहजतालाई आधार मानी सिफारिस गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले मन्त्रालयमा पठाएको सिफारिस बमोजिम गृह मन्त्रालयले आवश्यक छानबिन गरी निर्णय गरेपछि मात्रै इलाका प्रशासन कार्यालय स्थापना हुनेछ । गृह मन्त्रालयसँगै अर्थ मन्त्रालयको पनि सहमति आवश्यक पर्ने र सो बारे औपचारिक छलफल भइसकेको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए । जिल्ला सदरमुकामबाट भौगोलिक रुपमा अपाएक पर्ने मध्यनेपाल नगरपालिका अन्तर्गतका नागरिकका लागि प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन कार्यालय जरुरी रहेको नगरप्रमुख पाण्डेको भनाइ छ ।
भौगोलिक रुपमा आम सेवाग्राहिलाई सहज र छिटोछरितो सेवा प्रवाहको लागि मध्यनेपालमा इलाका प्रशासन कार्यलय अति आवश्यक रहेको भन्दै कार्यालय स्थापना पश्चात पश्चिम लमजुङका नागरिकलाई प्रशासनिक कामकाजमा धेरै ठूलो राहात मिल्ने नगरप्रमूख पाण्डेले बताए ।
दुई वर्षअघि पनि मध्यनेपालमा इलाका प्रशासन कार्यालय राख्न आवश्यक सुझाव र तथ्य सहित जिल्ला प्रशासन कार्यालय लमजुङले गृह मन्त्रालयमा सिफारिस गरेको थियो । तत्कालीन समयमा गृह मन्त्रालयले नै देशैभरका प्रशासन कार्यालयहरुमार्फत जिल्लाको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि प्रारम्भिक प्रतिवेदन पठाउन पत्राचार गरेपछि सोहि पत्रमा आधारित भएर प्रशासनले सिफारिस गरेको थियो ।
इलाका प्रशासन कार्यालय स्थापनाको लागि निर्धारित मापदण्डमा आधारित भएर जिल्ला प्रशासन कार्यलय लमजुङले आवश्यक सुझावसहित गृह मन्त्रालयमा सिफारिस गरेपनि कार्यान्वय हुन सकेको थिएन । तत्कालिन समयमा गरिएको सिफारिसमा भने मध्यनेपालमा हुने इलाका प्रशासन कार्यालयले मध्यनेपाल नगरपालिका र क्होलासोँथार गाउँपालिकाका केही वडाहरुलाई समेत सेवा क्षेत्र तोकिएको थियो ।
हाल मध्यनेपाल–४, रम्घा दुईपिप्लेमा रहेको सामुदायिक प्रहरीको भवनमा इलाका प्रशासन कार्यालय रहने गरी सिफारिस भएको छ । दुईपिप्लेमा इप्रका स्थापना भए सदरमुकाम आउने सेवाग्राहिलाई समय र खर्च समेत बचत हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्