`एमसीसी संसद्मा टेबुल गर्नुको विकल्प छैन`

सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) संसद्मा टेबुल गर्नुको विकल्प नरहेको बताएको छ । बिहीबार सानेपामा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सदस्यहरुको यस्तो धारणा आएको हो ।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसद्मा पेश भए बहुमतका साथ पारित हुने दाबी गरे । बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पु-याएर टुंग्याउने कुरामा विस्तृत छलफल भएको उनले बताए । उनले एमसीसी संसद्मा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निष्कर्षमा पुग्ने बताए । उनले भने, ‘एमसीसी संसद्बाट नै टुंग्याउन उपयुक्त हुन्छ । संसद्मा एमसीसीको विषयले प्रवेश नपाउने कुनै कारण छैन, सदनमा प्रवेश पाएपछि ठूलो बहुमतका साथ पारित हुन्छ । नेपाल सरकारले सन् २०१२ मा एमसीसीको प्रक्रिया अघि बढाएको हो । अब एमसीसीको अन्योललाई चाँडै समाप्त पार्नुपर्छ ।’
बैठकमा स्थानीय निर्वाचनको बारेमा पनि छलफल भएको थियो । प्रवक्ता महतले बैठकमा वक्ताहरुले बोल्ने क्रम नसकिएकोले शुक्रबार पनि छलफल चल्ने बताउँदै बिहीबारको बैठकमा स्थानीय निकायको निर्वाचन, भ्रात ृसंगठनहरुको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको बताए । प्रवक्ता महतले विधानको व्यवस्थाअनुसार पार्टीले भ्रातृ संगठनहरुको बारेमा निर्णय गरेर अघि बढ्ने पनि बताए ।
यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताएका छन् । कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने धारणा राखेका हुन् । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रुपमा प्रतिक्रिया दिँदै उहाँले बैठकमा आफ्नो अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिलि एक्लै जानुपर्ने धारणा राखेको बताए । नेता कोइरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताए । स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भ्रातृ संगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए ।
बिहीबारको बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुलाई एमसीसीका विषयमा धारणा राख्न समय दिएका थिए । कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी परियोजना नेपालका लागि किन आवश्यक छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले एमसीसी परियोजनाले नेपालको आर्थिक विकासमा कस्तो योगदान दिने विषयमा बृहत धारणा प्रस्तुत गरेका थिए ।
त्यसपछि बोल्ने केन्द्रीय कार्यसम्पादन समितिका सबै सदस्यहरुले एमसीसी परियोजना पारित गर्नुपर्ने पक्षमा धारणा राखेको बताइएको छ । बैठकमा सहभागीहरुले एमसीसीका विषयमा प्रतिपक्षी दललाई मिलाउन र सत्ता गठबन्धन दलहरुलाई मनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । शुक्रबारको बैठकले एमसीसीका विषयमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।