Logo

सिरहामा एक हजार घर परिवारलाई लालपूर्जा वितरण


भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताएकी छिन् ।
सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र मल्हनियाँ खोरी)मा विशेष नापीमार्फत नापी गरिएको गाउँब्लक जग्गाको पूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताइन् ।
जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले २०२१ साल यता नापी हुँदा गाउँब्लकका रुपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम सुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको पनि बताइन् ।
जमिन भएर पनि लालपूर्जा नहुदा भूमिविहिन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोहीपनि भूमिहिन भएर बस्नु नपर्ने पनि मन्त्री श्रेष्ठले बताइन् ।
संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफुू प्रतिबद्ध भएर लागेको भन्दै मन्त्री श्रेष्ठले लामो र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको पनि बताइन् । उनले सेवा ग्राहीलाई सहयोग पुग्ने र छिटो काम हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिइन् ।
सिरहामा शुक्रबारसम्म गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ । यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी थिइन् ।
२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुने बताउँदै आएकी छिन् ।
मन्त्री श्रेष्ठले हरुवा चरुवाको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी आफूले काम सुरु गरिसकेको बताइन् । सिरहाको बरियारपट्टीमा हरुवा चरुवा, कमैया कमलरीहरुको अध्ययन गर्न गठित समितिले आयोजना गरेकोे छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले हरुवा चरुवाका बास्तविक समस्या पहिचान गरी अध्ययन समितिले दिने प्रतिवेदन अनुसार दिगो रुपमा नै समस्या समाधान गर्ने गरी सरकार अघि बढ्ने बताइन् ।
मन्त्री श्रेष्ठले हरुवा, चरुवा कमैया कमलारीको समस्या समाधान गर्न उनीहरुसँग छलफल गरी ५ सदस्यीय अध्ययन समिति गठन गरेकी छिन् ।समितिले हरुवा, चरुवा, हलिया र कमैया कमलरीहरुको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन सरकरलाई बुझाउने छ ।

प्रतिक्रिया दिनुहोस्