काठमाडौं–तराई-मधेस द्रुतमार्गबारे प्रत्यायोजित समितिमा छलफल «

काठमाडौं–तराई-मधेस द्रुतमार्गबारे प्रत्यायोजित समितिमा छलफल

अर्थ मन्त्रालयले निर्माणाधीन काठमाडौं–तराई-मधेस द्रुतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ ।
सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले राष्ट्रिय गौरवको सो आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । तर, त्यसका लागि यथार्थमा आधारित योजना लिएर आउन पनि आयोजनालाई उहाँले सचेत गराए ।
सहसचिव सुवेदीले यथार्थपरक योजना नआउँदा सो आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समस्या भइरहेको पनि समितिलाई जानकारी गराए । उनले भने, ‘यो नेसनल प्रायोरिटीको प्रोजेक्ट हो । यसलाई नेपाल सरकारले नेशनल प्रायोरिटीको प्रोजेक्ट हो भने पछि त्यसमा स्वभावैले गोभर्मेन्टको आनेरसिप रहन्छ । तर रियालिष्टिक प्लान ल्याइदिनुप¥यो, अर्थ मन्त्रालयमा । बजेटको अभाव हुन्न ।’
यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पनि आयोजनालाई बजेटबारे समयमै सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्न आग्रह गरे । आयोजनाको कामको प्रगति हेरेर बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
उपाध्यक्ष पौडेलले राष्ट्रिय गौरवको आयोजना भएकाले त्यसका लागि बजेटको अभाव हुन नदिने विषयमा अर्थ मन्त्रालयसँग पटकपटक छलफल गरिएको पनि बताउनु भयो । यता, रक्षा मन्त्रालयले भने तोकिएकै मितिमा आयोजना सम्पन्न गर्ने तर त्यसका लागि सरकारले बजेटको स्रोतको सुनिश्चितता गर्नुपर्ने जनाएको छ । रक्षा सचिव किरणराज शर्माले आयोजना तोकिएकै मितिमा सम्पन्न गर्न बजेटको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनु भयो । उनले चालू आर्थिक वर्षमा ५ अर्व, आगामी आर्थिक वर्षमा ५५ अर्व ५० करोड, आर्थिक वर्ष २०७९-०८० मा ४५ अर्व ६६ करोड र आर्थिक वर्ष २०८१-०८२ मा ३४ अर्व ५२ करोड बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयसँग माग गरे ।
करिब १ खर्ब ७५ अर्ब बजेट लाग्ने सो आयोजना २०८१ सालभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले सो आयोजना समयमै सम्पन्न हुने दोहो¥याउँदै त्यसका लागि बजेटको अभाव हुन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्