नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसार गर्ने

आगामी तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ ।
बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि प्रचार–प्रसारको जिम्मेवारी लिने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि स्रष्टा र संस्कृतिकर्मीहरूलाई सक्रीय र सशक्त रुपमा परिचालन गरिने बताए ।
उनले कांग्रेसले हालसम्म गरेका कामहरू तथा भविष्यमा गर्ने कामहरूको सम्बन्धमा गीत, संगीत, कविता, नाटक, प्रहसन, नृत्यको माध्यमबाट जनतासम्म पु-याउने पनि बताए । निर्वाचन प्रयोजनका लागि फागुन मसान्तसम्म सातवटै प्रदेशमा संगठन सुदृढीकरण तथा प्रशिक्षण आयोजना गरिने र चैत मसान्तभित्र देशका ७ सय ५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी निर्वाचनमा सक्रिय सहभागिता जनाउने संघका सभापति थापाले जानकारी दिए ।
नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । संघको तेस्रो महाधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको पनि सभापति थापाले बताए ।