सहरी अवधारणामा अपराधगत मनोदशा

बढ्दो अपराधको प्रमुख कारक तत्वविशेषका रूपमा न्यून कामका लागि अत्यधिक अर्थोपार्जनको गलत मार्ग खोल्ने प्रक्रियाको उच्च गतिलाई लिन सकिन्छ ।
विश्वका अन्य मुलुकसरह नेपालमा पनि सहरी अवधारणाको विकाससँगसँगै अपराधगत मनोदशामा विविधता कायम रहन जाने प्रबल सम्भावना रहेको हुँदा अपराध एवं आपराधिक प्रवृत्तिमा समेत भिन्नतासहितको फरकपनको महसुस आम जनसमुदायलाई हुँदै आएको वर्तमान परिपेक्ष हो । यद्यपि ग्रामीण एवं सहरकेन्द्रित अपराधको क्षेत्रमा तुलनात्मक रूपमा तात्विक भिन्नता भने रहेको पाइँदैन ।
नागरिक सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट अध्ययन गर्दा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्र रक्षात्मकतातर्फ उन्मुख रहेकै कारण सुरक्षाको प्रत्याभूति अद्यावधिक बहाल रहन जाने देखिएको हुँदा उल्लेख्य जनसमुदायको बाक्लो उपस्थिति रहने गरेको मात्र हो । अन्यथा वातावरणीय प्रदूषण तथा स्वच्छताको हिसाबमा अझै पनि हाम्रा ग्रामीण बस्तीहरू मानव बस्ती विकासका लागि अब्बल रहँदै आएको पाइन्छ ।
विकाससम्मत क्षेत्रिय अवधारणाका आधारमा राज्यका अभिन्न अङ्गको रूपमा विराजमान रहेको भए तापनि राष्ट्रिय स्तरको अपराधको क्षेत्रमा भने दुवै भूमिका समान–समान नै रहनेछ । अपराधशास्त्रीय दृष्टिकोणबाट सजाय तथा जरिवानाहरू निर्धारण गर्दा राज्यले शैक्षिक, लैङ्गिक, भाषिक, वर्ण, सम्पन्नता–विपन्नता वा प्रदेशगत क्षेत्रीय बसोबासलाई नै मूल मुद्दा बनाई कुनै पनि पक्षलाई विभेदको रणनीति अवलम्बन गर्नेछैन । किनकि न्यायिक सम्पादनको दृष्टिकोणबाट हरेक समुदायविशेषलाई विभेदरहित समानताको आधारमा न्याय प्रतिस्थापन गराउने प्रयास गरिएको हुन्छ । विशेष गरी सहरी अवधारणाअन्तर्गतका विषयवस्तुहरूमा मानवीय स्वभावानुसार आफ्नो सीमित आयको साँघुरो घेराभित्र संकुचित एवं अनुबन्धित रहँदै असीमित मानवीय आवश्यकता पूरा गर्नुपर्ने बाध्यात्मक परिस्थितिको निर्माण ग्रामीण क्षेत्रको तुलनामा सहर एवं सहरउन्मुख बस्तीहरूमा अत्यधिक मात्रामा रहन गएको देखिन्छ ।
जसका खातिर न्यूनतम शुल्क खर्चिएर अधिकतम मानवीय सुखसुविधा प्राप्तिको लालसामा बर्सेनि ग्रामीण क्षेत्रबाट सुविधासम्पन्न सहरी क्षेत्रमा उच्चस्तरको जनसंख्या वृद्धि हुन गएको तथ्यसँग हामीहरू साक्षात्कार रहेकै छौं । जुन क्षेत्रमा जनसंख्याको चाप उच्च रहन्छ त्यहाँ निश्चित रूपमा मानवीय समस्याहरू चुलिने सम्भावना पनि जीवन्त रहन्छ । परिणामतः सम्बद्ध क्षेत्रका सामाजिक, आर्थिकलगायतका मानव जीवनसँग सान्दर्भित आधुनिक समस्याले मानव समुदायलाई घेर्ने अवस्था पैदा गर्नेछ, जसमा विशेष गरी आर्थिक अपराधले प्रमुख स्थान ओगटेको देखिन्छ ।
किनभने ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा अवसरको सम्भावना अत्यधिक रहने हुँदा तत्सँग सम्बन्धित आर्थिक क्रियाकलापको दरमा पनि समयानुकूल वृद्धि हुने भएकाले यसैसँग आबद्ध अपराधका दरहरूमा पनि दिनहुँ अभिवृद्धि हुने गरेको मात्र हो । सहज रूपमा मार्गप्रशस्त हुन नसकेको खण्डमा यसले वीभत्स रूप धारण गरी हत्या, बलात्कारको रूपमा प्रतिस्थापित हुने यस क्षेत्रका जानकारहरूको बुझाइमा रहेको पाइन्छ ।
बढ्दो अपराधको प्रमुख कारक तत्वविशेषका रूपमा न्यून कामका लागि अत्यधिक अर्थोपार्जनको गलत मार्ग खोल्ने प्रक्रियाको उच्च गतिलाई लिन सकिन्छ । परिणामतः जति सहज रूपमा आम्दानीको अभिवृद्धि रहन्छ, खर्च गर्ने संस्कृतिमा पनि मितव्ययितताको न्यूनता कायम रहन नसकी मनपरी ढङ्गले खर्चिने स्वभावको अवस्था प्रारम्भ हुनेछ । जसको विकासले निश्चित रूपमा मानवमात्रलाई अपराधकर्मतर्फ डो-याएर लग्नेछ ।
यसका अतिरिक्त प्रलोभनजन्य गलत मनसायका कारण विवेकहीनताले प्रोत्साहन पाई अपराध गर्न सक्ने तथ्यहरूले औंल्याउँदै आएको पाइन्छ, जसमा बढ्दो सहरी जनघनत्वका कारण मानिसहरूमा नितान्त व्यक्तिवादी चरित्रको हाबी रहन गई मानवीय नैतिक मूल्य–मान्यतालाई एकातिर लत्याउँदै जस्तोसुकै कुकर्म गरेरै भए पनि शालिनता र सम्पन्नता हासिल गर्नुपर्ने प्रवृत्तिगत अभिमानको अभिवृद्धिले सहरी अवधारणामा समेत अपराधगत मनोवृत्तिले मौलाउने अवसर पाएको हो भन्दा त्यति अत्युक्ति नहोला ।
तत् सन्दर्भमा कुनै पक्षबाट बाधा–विरोध सिर्जना भए जस्तोसुकै गम्भीर अपराध गर्न पनि पछि नपर्ने संस्कृतिको विकास जनसंख्या वृद्धिकै कारण ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बढ्न गएको हो । प्राप्त समस्या समाधानीकरणतर्फ उन्मुख रहने क्रममा दुई अवस्था प्रारम्भ हुने देखिन्छ । सुरुको अवस्थामा सकारात्मक भावनाको अभ्युदय गराउँदै सामाजिक जनजीविकालाई सहजीकरणको मार्गमा हिँडाउने प्रयास गरिन्छ । सहरी वातावरणमा अनगिन्ती समस्याहरू जस्ताको तस्तै रहेकै कारण निकारणको मार्गमा व्यवधान सिर्जना भए अपराधको श्रीवृद्धि हुने तथ्यलाई नकार्न मिल्दैन । यसको अर्को पक्ष भनेको आवश्यकता परिपूर्तिको क्षेत्रमा आएको गतिरोधले निश्चित रूपमा नागरिक समाजलाई द्वन्द्वात्मकतातर्फ धकेल्ने सम्भावना पनि त्यत्तिकै रहेको पाइयो ।
जहाँ सामाजिक द्वन्द्व रहन्छ त्यहाँ अपराधीकरणले प्रोत्साहन पाउने नियति नै हो । सामान्य रूपले हेर्दा आर्थिक असमानता, गरिबी, प्रलोभन आदिका कारण कुनै पनि व्यवधान तयार हुन्छ भने त्यहाँ निश्चिय पनि अपराधकर्मको जन्म हुने आपराधिक सैद्धान्तिक पृष्ठभूमि हुन् । किनभने गरिबीले असमानताको जन्म गराउँदै गाँस, बास र कपासको अभाव पूर्ति गर्ने क्रममा कहिलेकाहीं मानवमात्रले जानाजान वा कानुनी अज्ञानतावश अपराधकर्मलाई अँगाल्ने गर्छ । तसर्थ राज्यका तर्फबाट गरिबी निवारणको रणनीतिक योजनालाई सहरदेखि गाउँगाउँसम्म व्यवस्थित तवरले लैजाने हो भने निश्चित रूपमा आज मुलुकमा आर्थिक असमानताका कारण निम्तिएको अपराधको दरमा कमी आउनेछ भनी ठोकुवा गर्न सकिनेछ ।
जसले समुदायभित्र कायम रहँदै आएको आर्थिक असमानतालाई समानताको मार्गमा प्रविष्ट गराउँदै सामाजिक न्यायको प्रत्याभूति दिलाउने कार्यमा कोसेढुङ्गा साबित हुने देखिन्छ । सामाजिक न्यायले सहसम्बन्धको प्रतिस्थापन गराउँदै सामूहिक कार्यको अवधारणाका साथै अर्थोपार्जनको समुचित्त खाका तयार गरी विपन्न वर्गलाई समेत समाहित गर्ने हुँदा सामूहिक हितभावको अभिवृद्धिले कायमी सामाजिक अपराधलाई न्यून गर्नेछ । क्षेत्रफलअनुसार जनघनत्व अधिक वा न्यूनका आधारमा अपराधको दर पनि तुलनात्मक रूपमा घटी–बढी रहने गरेको मात्र हो । तथापि आज मुलुकको अपराधको दर सहरी क्षेत्रको तुलनामा ग्रामीण बस्तीहरूमा पनि बढ्दै जानुमा हीनतामुखि स्वभावको अभिवृद्धि, आर्थिक अभाव ईष्र्या आदि कानुनी अनभिज्ञता एवं जनचेतनाको अभावका कारण बदलाभावमा रूपान्तरण हुने हुँदा समाजमा अपराधको दर घट्नुको साटो बढ्दै गएको जस्तो देखिएको मात्र हो ।
सहरी क्षेत्रमा जनघनत्वको चाप उच्च रहेकै कारण समुन्नुतिको उपलब्धता रहँदारहँदै पनि पहुँचको न्यूनताले समस्या समाधान गर्ने दिशामा व्यवधान उत्पन्न हुने गरेको हो । जसले मानव मात्रलाई केही हदसम्म आर्थिक रुग्णताको भुमरीमा रिँगाउदै अन्य समुदायको देखासिकी गर्ने प्रवृत्तिको विकासले नागरिक समाजमा आर्थिक विचलनको अवस्था तयार पार्नेछ, जुन वर्तमान परिप्रेक्ष्यमा सहरी वातावरणमा अत्यधिक रूपमा रहन गएको पाइयो । प्रस्तुत विचलित आर्थिक मनोदशाले विचलनको परिस्थिति निर्माण गर्दै अपराधीकरणलाई प्रोत्साहित गर्ने दिशामा निर्णायक भूमिका निर्वाह गर्ने हुँदा हरेक चेतनशील समुदायले सजगता अपनाउनु अपरिहार्य भइसकेको छ । विपरीत अवस्था तयार भए सहरी अपराधको दरमा सुरक्षाको पहुँचमा कमी आई नागरिक समाजले असुरक्षित रहेको महसुस गर्नेछन् भन्दा फरक नपर्ला ।