किसानको माग सम्बोधन नभए मधेसमा स्थानीय तहको निर्वाचन हुँदैन : डा.सिके राउत

वीरगन्ज – जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले किसान आन्दोलनको सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
वर्षौंदेखि किसानको समस्या कायम नै रहेको अवस्थामा जुनसुकै सरकार र व्यावस्था परिवर्तन भए पनि किसानले उठाएको मुद्दाको सम्बोधन नभएसम्म निर्वाचनको औचित्य नरहने भएकोले किसानको माग सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने बतएका छन् ।
वीरगन्जमा बुधबार पत्रकार सम्मेलन गर्दै जनमत पार्टीका अध्यक्ष डा.राउतले मतदाता किसानले जिताएर पठाएका राजनीतिक दलका नेताहरूले नै सत्तामा पुगेपछि किसानको दुःख पीडा बिर्सिएर उल्टै किसानलाई दमन गर्ने गरेको आरोप लगाए । जनमत पार्टीले अहिले किसान आन्दोलनको मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै देशमा हुने जुनसुकै अन्याय, अत्याचार र विभेदकाविरुद्ध आन्दोलनको नेतृत्व गर्न सक्ने बताए ।
मधेसीलाई अधिकार दिलाउने भनेर मधेसी जनताको आन्दोलनको बलमा बनेको मधेस प्रदेश सरकार नै अहिले मधेसका किसानहरूमाथि दमन गर्नु लोकतन्त्रमाथि कै प्रहार भएको डा.राउतको बुझाइ छ ।
लोकतन्त्रमा एकजना नागरिकले पनि राज्यको गलत प्रवृत्तिको विरुद्ध आवाज उठाउन सक्ने भन्दै मधेसका किसानले माग सम्बोधन गर्नका लागि ज्ञापनपत्र बुझाउन खोज्दा समेत मुख्यमन्त्री लालबाबु राउत र उहाँको नेतृत्वको सरकारले ज्ञापनपत्रसमेत नबुझेर किसानको अपमान गरेको बताए ।
सिके राउतलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले परिचालन गरेको भनेर लाग्ने गरेको आरोपको खण्डन गर्दै डा.राउतले आफूले कुनै राजनीतिक दलको नेतासँग सम्झौता गरेको नभई केपी ओलीको नेतृत्वको सरकारसँग सम्झौता गरेको बताए । उनले मधेस केन्द्रीत राजनीतिक दलहरूले दलका नेताहरूसँग मात्रै सम्झौता गरेको प्रमाण आफूसँग रहेको देखाउदै जसपा र लोसपाका नेताहरू केपी ओलीले परिचालित गरेका व्यक्तिहरू उनीहरू भएको आरोप लगाए ।
एमसीसीको विषयमा संचारकर्मीले राखेको जिज्ञाशामा सरकारको काम भएकोले त्यसमा आफ्नो कुनै भनाईहरू नरहेको र आफ्नो पार्टीसँग आधिकारिक धारणा समेत सरकारले माग नगरेकोले जनताको चाहाना र भावना अनुसार नै गर्नुपर्ने विचार व्यक्त गरे । एमसीसी जनताको बीचमा बहसको विषय बनिसकेकाले जनभावनाअनुसार हुनुपर्ने बताए ।