Logo

राप्रपा छाड्ने निर्णयमा पुनर्विचार गर्न थापालाई लिङ्देनको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । अध्यक्ष लिङ्देनले राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने बताए । अध्यक्ष लिङ्देनले भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखी त बनायो नै तर यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जिवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ।’
उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आह्वान गरे । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडी बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे ।
अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गरे । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको भन्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे । उनले भने, ‘हामीले औपचारिक रुपमै भनेका छौँ यो निर्णयबाट हामी दुःखी छौँ । यो निर्णय सच्याउन, यो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्छौ भनेर भनेका छौँ । उहाँ स्वयम्को राजनीतिक भविष्यका लागि समेत यो निर्णय सच्याउनु उचित हुन्छ । राम्रो हुन्छ । फलदायि हुन्छ र राप्रपा सदैव उहाँको लागि ढोका खुल्ला गरेर बसेको छ ।’
निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको उल्लेख गरे । छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भए पनि थापाले पार्टी छोडेको उनले स्पष्ट पारे । निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय उनको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताए ।

प्रतिक्रिया दिनुहोस्