सुध्रेनन् अर्थतन्त्रका सूचक

विदेशी मुद्रा सञ्चिति घट्यो, शोधनान्तर घाटा चुलियो, रेमिट्यान्स आय निरन्तर ओरालो, मुद्रास्फीति ५.६५ प्रतिशत, ब्यापार घाटा ८ खर्ब ८० अर्ब
सरकारले कडाइ गर्दागर्दै पनि भएको उच्च आयातका कारण ब्यापार घाटा बढेर ८ खर्ब ८० अर्बभन्दा बढि हुँदा विदेशी मुद्रा सञ्चितिमा झन् दबाब परेको छ । सरकारले आयात नियन्त्रण गर्दा पनि हाल भएको विदेशी मुद्रा सञ्चितीले ६.६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्न सक्छ ।
आर्थिक वर्ष २०७८-०७९ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति ७.२ महिनाको वस्तु आयात तथा ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रतिवेदनमा उल्लेख छ ।
२०७८ पुस मसान्तमा विदेशी विनिमय मुद्रा सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आवको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ५४.८ प्रतिशत र २२.० प्रतिशत रहेको भन्दै राष्ट्र बैंकले २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेको जनाएको छ ।
२०७८ असार मसान्तमा १ हजार ३ सय ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चितिमा १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा १ हजार १ सय ६५ अर्ब ८० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड कायम भएको छ ।
राष्ट्र बैंकको तथ्यांकले मुलुकको बाह्य क्षेत्र झन् संकटोन्मुख हुँदै गएको तथा उच्च आयातसँगै बढेको व्यापार घाटाका कारण मुलुकको बाह्य क्षेत्रको संकटापन्न रहेको देखिन्छ ।
शोधनान्तर घाटा चुलियो
राष्ट्र बैंकका अनुसार शोधनान्तर घाटा पनि चुलिएको छ । महिनादिनमै शोधनान्तर घाटा ४६ अर्ब २२ करोडले बढेर २ खर्ब ४१ अर्ब २३ करोड नाघेको छ । चालू खाता घाटा पनि महिना दिनमै ५३ अर्ब ३८ करोड रुपैयाँले बढेको छ । चालू खाता घाटा ३ खर्ब ५४ अर्ब ७ करोड पुगेको छ । यसरी मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम ऐतिहासिक रुपमा बढेर अर्थतन्त्रको अवस्था भयावह बन्दै गएको छ । किनकि यो शोधान्तर घाटा हालसम्मकै उच्च हो ।
रेमिट्यान्स आय निरन्तर ओरालो
यसैगरी, चालू आर्थिक वर्षको ६ महिनामा पनि रेमिट्यान्स आय घटेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आय ५.५ प्रतिशतले कमी आई ४ खर्ब ६८ अर्ब नेपाल भित्रिएको छ ।
गत आवको सोही अवधिमा रेमिट्यान्स आय त्यसअघिको आवभन्दा ११.१ प्रतिशतले बढेको थियो । गत आवको पुस मसान्तसम्ममा ४ खर्ब ९५ अर्बभन्दा बढी रेमिट्यान्स आय नेपालले प्राप्त गरेको थियो । यसैगरी, अमेरिकी डलरमा रेमिट्यान्स आय ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो आवमा रेमिट्यान्स आय अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ जना पुगेको छ । तर पनि रेमिट्यान्स आय भने घटेको छ ।
मूल्यवृद्धि ५.६५ प्रतिशत, सबैभन्दा बढी घिउतेलमा
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मूल्यवृद्धि ५.६५ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आवको सोही अवधिमा मूल्यवृद्धि ३.५६ प्रतिशत थियो ।
पुस २०७७ को तुलनामा पुस २०७८ मा घिउ तथा तेलमा २१.२२ प्रतिशत, यातायात भाडामा १४ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ११.३७ प्रतिशत, सुर्तीजन्य वस्तुमा साढे १० प्रतिशत र दाल तथा गेडागुडीमा ९.२२ प्रतिशत मूल्यवृद्धि भएको छ । यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार पुस २०७७ को तुलनामा पुस २०७८ मा घिउ तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत बढेको छ । सो अवधिमा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको छ । गत पुसमा यी क्षेत्रहरुमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१८ प्रतिशत थियो । यो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१० प्रतिशत, ७.६७ प्रतिशत र ७.१४ प्रतिशत रहेको छ । पुस महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१ प्रतिशत रहेको छ ।
पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ५.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक १.७२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः ९.४४ प्रतिशत र ४.७३ प्रतिशतले बढेको छ ।
यसैबीच पछिल्लो समय बजारमा व्यवसायीहरुले आफूखुसी सबै प्रकारका खाने तेलको मूल्य बढाएका छन् । तीन साताको अवधिमा तोरी, भटमास र सूर्यमुखी गरी तीनै प्रकारका तेलको मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघका अनुसार भटमास र सूर्यमुखी तेलको मूल्य लिटरमा १० रुपैयाँले बढेको छ भने तोरीको तेलको मूल्य लिटरमा दुईदेखि तीन रुपैयाँले वृद्धि भएको छ ।
मूल्यवृद्धिपछि भटमासको तेलको प्रतिलिटर खुद्रा बिक्री मूल्य २४० रुपैयाँ, सूर्यमुखी तेल २६० र तोरीको तेलको मूल्य ३४२ रुपैयाँ पुगेको छ । होलसेल मूल्य बढेर आएको भन्दै खुद्रा व्यवसायीले पनि बढाएका हुन् । तेलमा प्रिन्ट मूल्य (खुद्रा बिक्री मूल्य) नै उद्योगीले बढाएका छन् । जसमा २२० रुपैयाँको भटमासको तेलको खुद्रा बिक्री मूल्य ट्याग २३० पु¥याइएको छ भने २४० को सूर्यमुखी तेलको मूल्य २४८ रुपैयाँ पु¥याइएको छ । यस्तै तोरीको तेलको मूल्य भने कार्टुनमा २० देखि ३० रुपैयाँसम्म बढाएर प्रतिकार्टुन (१० लिटर) को मूल्य ३४ सय १० रुपैयाँसम्म पु¥याइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले स्थानीय बजारमा पनि मूल्य बढेको नेपाल वनस्पति घिउतेल उत्पादक संघले बताएको छ ।