Logo

विद्युतको अनलाइन भुक्तानी सुरु

जुम्ला-नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले विद्युत महसुलको अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । माघ २४ गते सूचना जारी गर्दै प्राधिकरणले जुम्लामा औपचारिक रूपमा विद्युतको महसुल अनलाइनबाटै भुक्तानी सेवा सुरु गरेको हो ।
बढ्दो प्रविधिको उच्चतम प्रयोग गर्दै बिल तिर्न कार्यालयमै पुग्नुपर्ने बाध्यताबाट छुट्करा दिलाउन विद्युत महसुलको अनलाइन भुक्तानी सेवा सुरु गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले बताए ।
उनले भने, “अनलाइन भुक्तानी गरांै, जहाँबाट जहिले पनि, भन्ने नाराका साथ सेवा सुरु गरेका छौं । सबैको घरमा स्मार्ट फोन छ । अब उपभोक्ताले घरबाटै आफ्नो मासिक बिल तिर्न सक्नेछन् । दैनिक कार्यालय आएर लाइन लाग्ने, भीडभाड हुने, बिल तिर्न पनि सास्ती खेप्नु पर्ने झन्झट अन्त्य हुने आशा छ ।”
ईसेवा एप, एनआईबीएल, हिमालय बैंक, प्रभु बैंक र महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत विद्युत महसुलको अनलाइन भुक्तानी गर्न सकिने प्रमुख रावलले जानकारी दिए । उनका अनुसार सेवा सुरुदेखि पहिलो सेवाग्राहीका रूपमा केवलप्रसाद आर्चायले विद्युत महसुलको अनलाइन भुक्तानी गरेका छन् ।
सेवाग्राहीलाई छिटोछरितो र आफ्नो समय अनुकूल भुक्तानी गर्न सक्नेछन् भने अनलाइन भुक्तानी गर्दा महसुल संकलन काउन्टर थप गर्नु नपर्ने, जनशक्तिको लागत घट्ने र भएका जनशक्तिलाई अन्य कार्यमा खटाएर विद्युत प्रवाह प्रभावकारी रूपमा गर्न सकिने प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्रसारण लाइनको दूरी लामो भएको र पटक पटक खराबी आइरहने भएकाले गर्दा जुम्लामा नियमित बत्ती आउन सकेको छैन । आए पनि पावर नआउने र मोबाइलसमेत चार्ज गर्न मुस्किल हुने गरेको उपभोक्ताको गुनासो छ ।
लामो प्रयासपछि जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगेको र दूरी पनि लामो भएर थोरै समस्या आउँदा बत्ती जाने समस्या भए पनि नियमित बत्ती सप्लाइका लागि कर्मचारी निरन्तर फिल्डमै खटिरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्