Logo

ऐतिहासिक बालमन्दिर जीर्णोद्धार

रुकुम पश्चिमको मुसिकोटमा वि.स. २०३४ सालमा स्थापना भएको बालमन्दिरको जीर्णोद्धार थालिएको छ । ऐतिहासिक सम्पदाको रूपमा रहेको बालमन्दिर जीर्ण बन्दै गएपछि स्थानीय सरकारको पहलमा जीर्णोद्धार गर्न लागिएको हो ।
पञ्चायतकालीन समयमा देशैभरका जिल्ला सदरमुकाममा स्थापना गरिएका बालमन्दिरलाई ऐतिहासिक सम्पदाको रूपमा हेरिन्छ । तर देशको बदलिँदो अवस्थासँंगै कतिपय राष्ट्रिय सम्पत्ति ओझेलमा परेका छन्, त कतिपय जीर्ण र प्रयोगविहीन बनेका छन् । रुकुम पश्चिमको मुसिकोटमा रहेको बालमन्दिरको अवस्था पनि विगत केही वर्षदेखि लथालिंग बन्दै गएको थियो । तर स्थानीय नागरिकको जनगुनासो बढ्दै गएपछि झण्डै २० लाख रकममा बालमन्दिर जीर्णोद्धार कार्य थालिएको मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतमको भनाइ छ । लामो समयपछि जीर्ण बनेको बालमन्दिर मर्मतसंभारले हाल निरन्तरता पाउँदा स्थानीयबासीले सरकारको कामलाई ढिलै भए पनि सह्रानीय कार्यको रूपमा लिएका छन् ।
तर पनि थोरै बजेटले मात्र बालमन्दिरको जीर्णोद्धार कार्य पूरा नहुने भन्दै यसको दीर्घकालीन जगेर्नाका लागि सरकारले पर्याप्त बजेट लगानी गर्नुपर्ने स्थानीय पहलबहादुर खड्काको भनाइ छ । बालमन्दिर जीर्णोद्धारका लागि मुसिकोट नगरपालिकाको पहलमा हाल रंगरोगन, पर्खाल निर्माणलगायतको काम जारी छ । मर्मतसंभारको काम सम्पन्न भएमा बालमिन्दरको संरक्षणसँंगै मुहार फेरिने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्