Logo

यूएई र साउदी अरेबियामा अलपत्र नेपाली श्रमिकको उद्धार


काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा यूएई गएर अलपत्र परेका नेपालीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएपछि सोही म्यानपावरले मंगलबार आठ जनालाई उद्धार गरी नेपाल ल्याएको छ ।
नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई गरेका छन् । युएइको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिई यूएई पठाएर अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ गरेको थियो ।
यसैबीच केही समयअघि साउदी अरेवियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरबको जेद्धामा उपचार गरी सोमबार स्वदेश फर्काइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवस्थित जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका थिए । नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरवमा अलपत्र परेका चार नेपालीलाई मंगलबार स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्