फागुन १ गतेदेखि गण्डकी प्रदेशमा निःशुल्क रगत उपलब्ध गराइने

पोखरा – आगामी फागुन १ गतेदेखि गण्डकी प्रदेशमा निःशुल्क रगत उपलब्ध गराइने भएको छ । फागुनदेखि प्रदेशका सामुदायिक सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रगत उपलब्ध गराइने भएको गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले बताइन् ।
गण्डकी प्रदेश सरकारले प्रदेशभरीका घाईते तथा बिरामीहरुलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउने भएको उनले जनाइन् । मन्त्री गुरुङले भनिन्, “विरामीलाई एक युनिट होस् वा आवश्यक पर्ने जति रगत पनि प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउनेछ । ”प्रदेशबासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने संवैधानिक प्रावधान, प्रदेशको स्वास्थ्य नीतिअनुरूप रगत निःशुल्क दिने निर्णय गरिएको मन्त्री गुरुङको भनाइ छ ।
मन्त्री गुरुङले भनिन्, “प्रदेशका कुनै पनि व्यक्तिले आर्थिक अभावमा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेका हौं, नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने सरकारको प्रयास हो ।” नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने गण्डकी प्रदेश सरकार पहिलो भएको उनले दाबी गरिन् । यसअघि वागमती प्रदेशले विपन्न परिवारलाई रगत निःशुल्क गरेको थियो भने स्थानिय तहले आर्थिक विपन्नताको सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।
नेपालमा नेपाल रेडक्रस सोसाइटीले व्लड बैंक सञ्चालन गर्दै आएको छ । विरामीले उक्त व्लड बैंकबाट एक युनिट रगतको ७ सय ५० रुपैयाँ तिरेर रगत लिने गरेका छन् । रक्तदाताले रगत निःशुल्क दान गरे पनि त्यसको परीक्षणदेखि भण्डारणसम्म गर्दा लाग्ने व्यवस्थापकीय खर्च स्वरुप उक्त रकम लिने गरेको नेपाल रेडक्रस सोसाइटीले जनाउँदै आएको छ । यसअघि प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतमा सहिद, घाइते, अपाङ्ग तथा बेपत्ता परिवारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । मन्त्री अधिकारीकै पहलमा भएको उक्त निर्णय हाल कार्यान्वयन भएको छ ।