मातृभूमिसँगको सामिप्यता बढाउन लगानी «

मातृभूमिसँगको सामिप्यता बढाउन लगानी

सरकारी अधिकारीहरूले गैरआवासीय नेपालीहरूलाई मातृभूमिसँगको सामिप्यता बढाउन न्यून परिमाणमा भए पनि लगानी गर्न आग्रह गरेका छन् । राजनीतिक संक्रमण अन्त्य हुँदै लगानीको वातावरण बनेकाले न्यूनतम पुँजी नै भए पनि नेपालमा लगानी गरेर मातृभूमिसँगको सामिप्यता अझ बढाउन उनीहरूले सुझाव दिए ।

ठूला लगानीकर्ताका लागि एकल वा संयुक्त लगानीको अवसर रहेको तथा साना लगानीकर्ताका लागि नेपालमा सरकारले जारी गर्ने विभिन्न बन्ड तथा निजी क्षेत्रद्वारा सञ्चालित म्युचुअल फन्डजस्ता सुविधा छन् । गैर आवासीय नेपालीले पुँजीसँगै प्रविधि पनि भिœयाउने भएकाले उनीहरूको लगानीलाई सरकारले सँधै स्वागत र सहजीकरण गर्ने  अधिकारीहरूले बताएका छन् ।

गैरआवासीय नेपालीको आठौं विश्व सम्मेलनका क्रममा आयोजित प्रत्यक्ष वैदेशिक लगानीसँग सम्बन्धित एक कार्यक्रममा उच्च सरकारी अधिकारीहरूले यस्तो धारणा राखेका हुन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालसँगको सुमधुर सम्बन्धलाई कायम राख्न प्रत्येक गैरआवासीय नेपालीले सानो होस् या ठूलो आफ्नो क्षमताले भ्याएसम्मको लगानी गर्न आग्रह गरे ।

हिजो फुटेका राजनीतिक दलहरू अहिले जुट्ने क्रममा भएको र सबै दलको एजेन्डा आर्थिक विकासमा केन्द्रित भएकोले विगतको तुलनामा राजनीतिक स्थिरता आएको उनले बताए । “मौसमका हिसावले नेपाल बाह्रै महिना उत्तिकै अनुकुल छ, यहाँ कृषि, पर्यटन, ऊर्जा, उत्पादनमूलक क्षेत्र सबैमा सम्भावना छ,” उनले भने, “आउनुस्, सानो होस ठूलो जत्रोसुकै लगानी नेपालमा गर्नुस्, अहिले लगानीका लागि वातावरण उत्तम छ ।” लगानीको वातावरण बनाउन नीतिगत रूपमा सुधार हुँदै आएको र आवश्यकताअनुसार सुधार हुने उनको भनाइ छ ।

“तपाइँहरू लगानी र आइडिया लिएर आउनुस्, हामी सहजीकरण गर्न तयार छौं,” अधिकारीले भने । उद्योग सचिव शंकर कोइरालाले जिडीपीमा अहिले औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतको हाराहारीमा रहेको भन्दै यसलाई बढाएर मुलुकमा औद्योगिकीकरण गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

अबको प्राथमिकता भनेको आर्थिक विकास नै भएको स्मरण गर्दै उनले अहिलेसम्म नीतिगत सुधारकै वर्षको रूपमा पनि लिन सकिने धारणा राखे । विशेष आर्थिक क्षेत्र, औद्योगिक व्यवसाय ऐन, कम्पनी ऐन, श्रम ऐनलगायतमा समयसापेक्ष सुधार भएको उनको भनाइ छ । लगानीका लागि बातावरण सहज बन्दै गएकोले अव लगानी गरेर देशमै रोजगारी सिर्जना गर्न सचिव कोइरालाले आग्रह गरे । 

साइप्रसको आइसीसी प्रतिनिधि रन्जित महतोले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरू इच्छुक भए पनि बढ्दो भष्टाचार तथा कमजोर कर्मचारीतन्त्रका कारण आउनुपर्ने लगानी पनि भित्रन नसकेको उनले बताए । जति पनि ज्वाइन्ट भेन्चर कम्पनीका रूपमा नेपालमा लगानी आउँछ त्यसमा विश्वासको कमी देखिएको भन्दै उनले यसमा सुधार गर्न पनि आग्रह गरे ।

वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा गैरआवासीय नेपालीले लगानी गर्न पाउने भएपनि त्यहाँ धेरै बाधाहरू छन् । अहिले संसदमा रहेकोले संशोधन गरेर मात्र अगाडि बढाउनुपर्नेमा उनको जोड छ । दोहोरो कर सम्झौताले कसरी लगानी आउँछ ? भन्दै उनले यसलाई सच्चाउन पनि आग्रह गरे । 

एनआरएनएका पुनर्निर्वाचित कोषाध्यक्ष हिक्मतबहादुर थापाले वैदेशिक लगानी भिœयाउन अहिले उपयुक्त वातावरण बन्दै गएको बताए । तर, लगानी अनुमतिका लागि महिनौं कुर्नुपर्ने, ठूला उद्योगलाई जग्गा किन्न समस्या रहेको उनको भनाइ छ । “गैरआवासीय नेपालीले धेरै लगानी ल्याउन सक्छन् तर वातावरण बनाइदिनुस्,” अफ्रिकाबाट डांगोटे सिमेन्टको लगानी ल्याउन लागिपरेका थापाले भने ।

लगानीका लागि एकद्वार प्रणालीको व्यवस्था गरिनुपर्ने भन्दै एउटै कामका लागि १० ठाउँभन्दा धेरैमा जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । एनसीसी ओमन प्रतिनिधि किशोर अर्यालले नेपालमा हवाई सेवाका क्षेत्रमा नयाँ काम गर्न सकिने सम्भावना निकै भएको भन्दै यसका लागि आफूहरूले काम गरेका बताए ।   

प्रतिक्रिया दिनुहोस्