Logo

‘राष्ट्रिय सरोकारभन्दा ठूलो गठबन्धन हुँदैन’

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन् । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजी गरी भ्रम सिर्जना गराएको उनले बताए ।
उनले भने, ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो । आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमति र फरक फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भनी महसुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैनथ्यो । जुन जुन दलहरु त्यसमा सम्वद्ध हुनुभएको छ, आफैँले गरेका कामहरुका बारेमा आफैँले टिप्पणी गरेर फरक मत राख्नुभएको छ । त्यस्तो नगर्नुस् भन्ने नेपाली कांग्रेसको हार्दिक अनुरोध छ । आम नेपाली जनताको पनि यो अनुरोध छ । यतिमात्रै होइन, यो विषयलाई आफूले निर्णय दिन नसक्नु त छँदैछ, तर नानाथरीका भ्रमहरु सिर्जना गरेर प्रचारबाजी जसरी गरिएको छ । यो प्रचारबाजीले मुलुकलाई, जनतालाई र यो मुलुकको अन्तर्राष्ट्रिय अनुहारलाई पनि धमिल्याउने काम भएको छ । यो दुर्भाग्यपूर्ण छ ।’
नेता विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरुलाई नपत्याउने बताए । राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पुर्याउनुपर्नेमा उनले जोड दिए । उनले गठबन्धनलाई जीवित राख्दै एमसीसी परियोजनाको विषयलाई टुंगोमा पुर्याउन चाहेको उनले स्पष्ट पारे । राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउनतर्फ कांग्रेसको चासो नरहेको नेता विश्वकर्माले बताए ।
उनले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरु पनि सन्तुष्ट रहेको बताए । निर्वाचनलाई सतप्रतिशत निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने विश्वकर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्