एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण गर्ने

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।
तालिकाअनुसार फागुन १ गतेदेखि १७ गतेसम्म चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम हुनेछ । फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा, ३ र ४ गते मधेश प्रदेशको जनकपुरमा, ६ र ७ गते बागमती प्रदेशको काठमाडौंमा, ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा, ११ र १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा र फागुन १६ र १७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुनेछ ।
प्रशिक्षणमा १० औं राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरु, स्थानीय तहमा एमालेको पाँच वर्षः उपलब्धि र अनुभवहरु तथा स्थानीय तह निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ ।