Logo

ओमन जाने क्रिकेट टोलीको भर्चुअल बिदाइ

ओमन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमन जान लागेको नेपाली टोलीलाई बिदाइ गरिएको हो ।
मंगलबार भर्चुअल माध्यमबाट आयोजित बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमबाट मंगलबार बिहान बिदाइ कार्यक्रम आयोजना गरेको हो । विश्वकप छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ओमन प्रस्थान गरेको छ ।
ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमन, फिलिपिन्स, क्यानडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीबीच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनोट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमन रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
छनोटअघि नेपालले ओमनमा चारदेशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जनकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमन रहेका छन् । खेलाडीहरुलाई बिदाइ गर्दै मन्त्री गहतराजले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै मन्त्रीले यस पटक विश्वकपका लागि नेपाली टोली छनोट हुनेमा आफू विश्वस्त रहेको बताए ।
क्यानका अध्यक्ष चतुबहादुर चन्दले विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । साथै खेलाडीहरुलाई उच्च मनोवलका साथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्