निर्वाचनको तयारीमा जुट्यो आयोग «

निर्वाचनको तयारीमा जुट्यो आयोग

आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ वैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका हुन् ।
आयोगले निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेमा ९५ दिनमात्रै पाएकाले सबै कामहरु फास्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने उनको भनाइ छ । सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारी ल्याउनुपर्ने अवस्था लगायतका कारणले निर्वाचनमा खर्च बढ्ने भएको उनको तर्क छ ।
उनले भने, ‘पक्कै पनि चुनौतीपूर्ण छ, किनभने हामीलाई १२० दिन समय प्राप्त गर्नुपर्नेमा ९०–९५ दिनको समय प्राप्त भएको छ । यसले करिब करिब निर्वाचनका लागि आवश्यक पर्ने समयको २५ प्रतिशत जति समय कटौती भएको अवस्था हो । यसले गर्दा हामीले कतिपय कामहरु फास्ट ट्रयाकमा गर्नुपर्ने अवस्था छ । ३० दिनको म्याद दिनुपर्ने ठाउँमा निर्वाचन आयोग ऐनको दफा प्रयोग गरेर १५ दिन, २० दिन अथवा १० दिनको समय दिएर प्रतिस्पर्धा गराउनुपर्ने हुनसक्छ । यथेष्ट प्रतिस्पर्धा नभइसकेपछि मूल्य उच्च हुने सम्भावना छ । कर्मचारीहरु अहिले निर्वाचन आयोगसँग अथवा जिल्ला निर्वाचन कार्यालयसँग भएका कर्मचारीले नपुगेर बाहिरबाट ल्याउनुपर्ने हुनसक्छ ।’
आयोगले निर्वाचनमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय जन्मिएका नयाँ राजनीतिक दलहरुको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगका प्रवक्ता पौडेलले बताए । हाल आयोगमा १०५ वटा राजनीतिक दल दर्ता भएका र निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरु दल पनि दर्ता हुन सक्ने र निर्वाचनमा भाग लिन सक्ने उनले स्पष्ट पारे ।
आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न सक्ने बताएको छ । आयोगका प्रवक्ता पौडेलले आयोगले सबै लेखाजोखा गरेर नै सय दिनको आसपासमा निर्वाचन गर्न सकिने गरी प्रधानमन्त्रीसमक्ष मिति प्रस्ताव गरेको बताए । निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नेगरी आयोग अगाडि बढिरहेको उनले बताए । उनले निर्वाचनका लागि जनशक्तिको समस्या नभएको पनि बताए । निर्वाचन सम्बन्धी कानुनी व्यवस्थाका आधारमा विभिन्न निकायबाट कर्मचारी परिचालन गर्न सकिने उनको भनाइ छ ।
आयोगले केही दिनभित्रमै २०७९ वैशाख ३० गतेसम्मकै लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए । मतदाता नामावली संकलनको कार्य स्थगित भएको उल्लेख गर्दै उनले अब मतदाता नामावली अद्यावधिकको काम सुरु हुने बताए । उनले भने, ‘निर्वाचन आयोग निर्वाचन गर्ने प्रयोजनका लागि गठित संवैधानिक निकाय हो । यसको सबै समय कुनै न कुनै रुपमा निर्वाचनकै तयारीमा बितिराखेको हुन्छ । घोषणाअघि पनि हामी निर्वाचनअघिका पूर्वतयारीका कामहरु गरिराखेका थियौं । ती काममध्ये मुख्य काम मतदाता नामावली संकलन हो । मतदाता नामावली संकलनको कार्य कानुनबमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि तत्कालको लागि स्थगित हुन्छ । केही दिनमा वैशाख ३० गतेसम्मकै कामको कार्यतालिका निकाल्छौं । अब मतदाता नामावली अध्यावधिकको काम सुरु हुन्छ । अन्तिम नामावली प्रकाशित हुन करिब डेढ महिना लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्