भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी : मन्त्री रेग्मी

भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित गर्न सरकार द्रुत गतिमा अघि बढेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताइन् । मंगलबार भृकुटीमण्डप क्षेत्रको निरीक्षण गर्दै मन्त्री रेग्मीले बिचौलियामार्फत हुने कारोबार रद्द गरेर सोझै परिषद्मार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको बताइन् ।
समाज कल्याण परिषद् अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले अब्यवस्थित रुपमा रहेका घर टहरा, तरकारी बजार, फनपार्कको उचित व्यवस्थापनका साथै खाली रहेका जग्गा जमिनलाई उपयोग गर्ने रणनीतिसमेत बनाएको बताइन् । ‘तरकारी बजार, फनपार्क, होटललगायतमा उचित व्यवस्थापन छैन भन्ने गुनासो आएको थियो, आफ्नै आँखाले छर्लङ देखँे’, उनले भनिन्, ‘अब छिट्टै नतिजा देख्नु हुनेछ ।’
कतिपय संस्थाले लामो समयसम्म पनि भाडा नतिरेको बताउँदै मन्त्री रेग्मीले पैसा नतिर्ने अटेर गरी बस्ने, जग्गाको दुरुपयोग गर्ने र अनियमित किसिमले अधिग्रहण गर्नेलाई कारबाही गरिनेसमेत बताए ।
भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने उनको योजना छ ।
मन्त्री रेग्मीले भृकुटिमण्डप क्षेत्रको टुकुचा , खसी बजार, फन पार्क हङकङ बजार, प्रदर्शनी स्थल लगायतको निरीक्षण गरेकी हुन् ।