Logo

एक्स्पो २०२० दुबईमा नेपाल दिवस मनाइयो

दुबईमा भइरहेको एक्स्पो २०२० मा नेपाल दिवस मनाइएको छ ।
सो कार्यक्रममा संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र त्यहाँका प्रतिनिधिले दुई देशबीचको बहुआयामिक सम्बन्ध एक्स्पोको कारणले थप उचाई लिएको बताए । दुवैले दुबईको आर्थिक विकासमा त्यहाँ कार्यरत करिब साढे दुई लाख नेपाली कामदारको योगदानको चर्चा समेत गरेका थिए ।
दिवसको प्रारम्भमा नेपाली प्रतिनिधिमण्डल तथा दुबईमा कार्यरत सयौं नेपाली समुदायको सहभागितामा सो एक्स्पोका लागि नेपाल सरकारबाट नियुक्त नेपाली आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप (आइ.इ.जी) ले नेपालबाट तयार गरी लगेको मच्छेद्रनाथको आकर्षक प्रतिमूर्तिका साथ मच्छेन्द्रनाथको सानो कदको रथ तानेर दुबईमा पानी परोस् भन्ने प्रार्थना गर्दै नाचगान बाजा गाजाका साथ झाँकी प्रस्तुत गरिएको थियो ।
दुबईमा रहेका नेपाली कलाकारहरु लगायत सांस्कृतिक संस्थानबाट गएका कलाकारहरुले नेपाल दिवसमा प्रस्तुत गरेका हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक नाचगान संगीत एक्स्पोमा रुचाइएको नेपालका राष्ट्रिय संयोजक तथा प्याभिलियन डाइरेक्टर विनायक शाहले बताए ।
२०२१ को अक्टोबर १ मा कोरोनाका कारण एक वर्ष ढिलो गरी सुरु भएको एक्स्पो २०२० दुबईमा विश्वका १९२ राष्ट्र तथा ५० भन्दा बढी अन्तर्राष्ट्रिय संघ संगठनहरुको प्रतिनिधित्व छ । ‘आपसी सम्पर्क र सम्बन्धबाट समुन्नत भविष्य’ को नारा लिएर मार्चसम्म सञ्चालित ६ महिने सो एक्स्पोमा नेपाली कला कौशल संस्कृति झल्काउने आकर्षक नेपाली मण्डपले हाल सम्म झन्डै १७ लाख दर्शकलाई स्वागत गरिसकेको आयोजकले जनाएका छन् ।
एक्स्पो २०२० दुबईमा सम्पन्न नेपाल दिवसका सहभागी नेपाली प्रतिनिधिमण्डलमा नेपाली राजदूत, दूतावासका अधिकारीहरु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकारीहरु, एक्स्पोका लागि नेपाली आयोजक संस्थाका पदाधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्