Logo

सुकुम्बासी र भूमिहीनको समस्या चाँडै हल हुन्छ : मन्त्री बराल

पोखरा-गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बरालले सरकारले चाँडै नै भूमिहीन सुकुम्बासीको समस्या समाधान हुने बताएका छन् ।
राष्ट्रिय भूमि आयोग कास्कीमा भएको कार्यक्रममा मन्त्री बरालले राज्यको समस्याको रुपमा रहेको भूमिहीन सुकुम्बासीको समस्या केही समयमै हल हुने दाबी गरे ।
आयोगलाई सबै क्षेत्रबाट विशेष हिसावले सहयोग गर्न आग्रह गर्दै मन्त्री बरालले कसैले पूर्वाग्रह नराखी राज्यको समस्या समाधान गर्नतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । “भूमि नभएका नागरिकलाई भूमि उपलब्ध गराउने, भूमिहीनको अन्त्य गरी व्यवस्थित बसोबास गराउने गठन भएको आयोगको जिम्मा आएको छ” उनले भने, “अब यसमा सबैको समस्या हल हुने गरी काम गर्नुपर्छ ।” यसअघिका आयोगले गरेको उपलब्धिलाई मनन् गर्दै आयोगले काम अघि बढाउनु पर्नेमा उनले जोड दिए ।
“भूमिहीन सुकुम्बासीको लागि यो अन्तिम अवसर हो” उनले भने, “हाम्रो काँधमा आएको जिम्मेवारलाई गम्भिरता पूर्वक बहन गर्न सक्नुपर्छ ।” मालपोत कार्यालय कास्कीका प्रमुख राजेन्द्रप्रसाद पौडेलले ११औं पटक गठन भएको आयोगले बाँकी रहेको भूमिहीन सुकुम्बासिको समस्या हल गर्ने विश्वास व्यक्त गरे । कास्कीमा समस्यामा परेकाहरुलाई आफूहरु सहयोग गर्न तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्