स्थानीय तहको निर्वाचन ३० वैशाखमा

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो । राजनीतिक दलबीच संविधान र कानूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाई र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदै आएको थियो । यसअघि आयोगले सरकारलाई जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सुझाएको थियो ।
निर्वाचन आयोग तयार
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मंगलबारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न÷गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले वर्षैभर निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयारी नै रहेको बताउँदै उनले कानुन अनुरूप निर्णय गरी मंगलबारदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिए । आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका लागि गृहकार्यका अतिरिक्त निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ । साथै निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जूमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्नेछ ।
केही दिनअघि मितिका सन्दर्भमा परामर्श दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तयारीका लागि प्रक्रिया अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन गृह मन्त्रीलाई निर्देशन दिएका थिए ।