एनआरएनए निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न केसीको अनुरोध

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षका प्रत्यासी बद्री केसीले १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन छिटो सम्पन्न गर्न अनुरोध गरेका छन् । केसीले आइतबार पत्रकार सम्मेलन गरेर गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आईसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको भए पनि महाधिवेशन र निर्वाचन नभएकोमा चिन्ता व्यक्त गरेका छन् । “महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु वास्तवमा न्यायोचित छैन,” केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक पटक समस्या समाधानका लागि पहल भएका छन् । हाम्रा प्रयासहरु विधि, विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको छ ।”
संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको (जनवरी) पहिलो साता पनि सबै पक्षसँग छलफल गरी ७ बुँदे सहमति समेत जुटाएको केसीले जानकारी दिए । जारी विज्ञप्तिमा आईसीसी बैठकको निर्णय, विधान व्याख्या समितिको निर्णय र पछिल्लो पटक संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनले समेत प्रतिनिधि छनोट वैधानिक भएको आधारहरु पुष्टि गरिसकेको उल्लेख छ ।
केसीले निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहिन आरोप लगाई निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय समेत देखिएको बताएका छन् ।