विद्युतीय तारको गन्जागोल अवस्था

आजभन्दा करिब दुई वर्षअगाडि पनि मैले कारोबार राष्ट्रिय आर्थिक दैनिकमा प्रकाशित गरेको थिएँ— काठमाडौं उपत्यकामा गन्जागोल विद्युतीय तारबारे । हो, त्यसको आज ठीक दुई वर्ष भइसकेको छ । गन्जागोल विद्युतीय तारहरू सडकका खम्बाहरूमा अझै छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तारहरूलाई सडकका खम्बाहरूबाट भन्दा पनि भूमिगत रूपमा तार बिछ्याउने कार्यलाई तीव्रता दिएसँगै राजधानीका नक्साल आसपास, कोटेश्वर, जडीबुटी सडकखण्डलगायत धेरै ठाउँमा धमाधम विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइरहेको छ । सोहीअनुसार काम पनि भइराखेको छ । यसले गर्दा सडकका खम्बाहरूमा तारहरू देखिँदैनन् र सहरको सौन्दर्यता कुरूप पनि देखिँदैन । तर, राजधानीका ग्रामीण भेगहरूमा भने अझै पनि विद्युतीय तारहरू खम्बामै झुन्डिरहेका छन् । यसको पनि चाँडै भूमिगत गर्ने कार्य अगाडि बढाइयोस् । तर, मुखले भन्नु र काम गरेर देखाउनुमा धेरै फरक छ । काम गरेर देखाउनु भनेको पनि चुनौतीपूर्ण कार्य हो ।
राजधानीभित्र यस्ता भद्रगोल रूपमा यत्रतत्र छरिएर, खम्बाको लोडले धान्नै नसकेर तारहरू भुइँमा नै लत्रिनसमेत पुगेका छन् । ती हुन्, इन्टरनेटप्रदायक सेवा दिने विभिन्न इन्टरनेट कम्पनीका तारहरू । हामी काठमाडौंको हनुमान थानदेखि घट्टेकुलो मोडमा हेरौं, कति इन्टरनेटका तारहरू खम्बामा झोल्लिएका छन् । केही समयअघि मात्र यस ठाउँमा खम्बामा तारहरूको बढी ओभरलोडले गर्दा थाम्न नसकेर खम्बा लच्किएको र आगलागीसमेत थियो । यस्ता दर्दनाक घटनाहरू आँखै अगाडि देख्दा किन यस्ता जोखिमयुक्त तारहरूको भूमिगत रूपमा विस्तारित गर्ने कार्यले तीव्रता पाएन ?
यो त एउटा उदाहरण मात्र हो । राजधानीभित्र रहेका खम्बाहरूमा हामी यस्ता गुजुल्टिएर बसेका धेरै इन्टरनेटका तारहरू देख्न सक्छौं । त्यस्तैगरी काठमाडौंको जडीबुटीमा पनि सडकको बायाँपट्टि टेलिफोन, इन्टरनेटका तारहरू खम्बामा मात्र थिएन, त्यहाँ त चार–पाँच दिनसम्म नै सडकमा अलपत्र अवस्थामा थिए । यसरी सडकका खम्बाहरूमा रहेका टेलिफोन तथा इन्टरनेटका गन्जागोल तारहरूले सहरको सौन्दर्य बिगार्ने मात्र होइन, यसले त दुर्घटना पनि निम्त्याउने गर्छ ।
म आफैंले पनि धेरै इन्टरनेट सेवाप्रदायक कार्यालयका कर्मचारीहरूसँगै गएर सोधपुछ गरें, उनीहरूको जवाफ प्रायः एकै प्रकारको थियो । एक त लामो समयसम्म तारहरू नफेरिएकाले गर्दा इन्टरनेटमा समस्या आउँछ अनि बाध्य भएर नयाँ तार फेर्दा पुरानो तार निकाल्नुपर्ने भएकाले पुरानो तारहरू सडकमा देखिन पुग्छन् । अर्को कुरा, टेलिफोनको तार तथा इन्टरनेटको तारमा अत्यधिक भारका कारण करेन्ट सर्ट भई तारहरूमा आगो बल्दा क्षति हुन पुग्छ र सबै तार फेर्नुपर्ने भएकाले गर्दा पनि तारहरू भद्रगोल देखिन्छन् । तर, केही कर्मचारीहरूको भनाइ छ, यस्ता तारले खम्बामा मात्र होइन, रातिको समयमा ठूलाठूला मालवाहक सवारी साधनले स–साना होचा तारहरू देख्दैनन् र चुँडालेर समेत हिँडिदिन्छन् अनि सडकमा यत्रतत्र छरिन्छ । त्यसैले यस्ता जोखिमहरूले गर्दा सडक र सहरको सौन्दर्यतामा ह्रास आउने र खम्बामा हुने तारहरूको ओभरलोडका कारण तार सर्ट भएर आगलागीजस्ता घटना हुनाले सकभर यस्ता तारहरूलाई पनि भूमिगत रूपमा नै बिस्तार गर्न सके धेरै राम्रो हुने कुरा उनीहरू बताउँछन् ।
हो, साँच्चै यस्ता तारहरूलाई बिस्तारै भूमिगत रूपमा बिछ्याउने कार्य गर्न सके साँच्चै सहरको सौन्दर्यता पनि बढ्थ्यो भने दुर्घटनाको जोखिम पनि कम हुन्थ्यो । नेपाल विद्युत् प्राधिकरणले जस्तै अरू सेवा दिने कार्यालयहरूले पनि तारहरूको पनि बिस्तारै भूमिगत रूपमा बिछ्याउने कार्यको थालानी गर्न सके दुर्घटना कम हुनुका साथै सहरको सौन्दर्य पनि राम्रो देखिन्थ्यो ।