युवा जनशक्तिमा लागू पदार्थको कुलत

सरकारले युवाकेन्द्रित नीति निर्माण गर्दै स्वदेशमा नै रोजगारीको सुनिश्चितता हुने वातावरण निर्माण गर्न विलम्ब गर्नु हुँदैन ।
युवावर्ग हरेक देशको विकासको आधार भएकाले युवामैत्री नीति निर्माण गरी आम युवालाई स्वदेशमा नै श्रम गर्ने वातावरणको सिर्जना गरेका हुन्छन् । आज हाम्रो देशमा प्रभावकारी युवा नीतिको अभावका कारण चाहेर पनि स्वदेशमा रहेर श्रम गर्न सकिरहेका छैनन् । रोजगारीको अभावमा दैनिक सरदर १७ सय युवा जनशक्ति श्रमका लागि बिदेसिन विवश छन् । युवा जनशक्ति यसरी बिदेसिनु क्षणिक लाभ देखिए पनि अन्ततः यसलाई सही मानिँदैन । कोरोनाको संक्रमणमा समेत विपे्रषणको वृद्धि भएको खबर आयो । देशको अर्थतन्त्रमा यसले टेवा दिएको छ । स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि उद्योग तथा कलकारखानाको स्थापना हुनु जरुरी हुन्छ । तर, उद्योग स्थापनाको सवालमा हामीले आवश्यक ध्यान दिएका छैनौँ ।
हाम्रो समाजमा अनेकांै समस्या विद्यमान रहेका छन् । बेरोजगारीको समस्या एकातर्फ जटिल बन्दै छ भने अर्कातिर होनहार युवा जमात लागूपदार्थको दुव्र्यसनीमा फस्दै गएका छन् । मानवले अनेकौं बहानामा विभिन्न प्रकारका लागूपदार्थको सेवन गर्दै त्यसैलाई निकट साथी बनाउने गर्छन् । लागूपदार्थको उपयोगले अमूल्य जीवन बर्बाद बनाउँदै आइरहेका छन् । खासगरी युवा जमात यसको कुलतमा फस्ने गरे तापनि अन्य उमेर समूहका व्यक्तिसमेत लागूपदार्थको दुव्र्यसनीमा पुगेका देखिन्छन् । लागूपदार्थको उपयोग गरी खराब लतमा लाग्नुका कारणहरू अनेक हुन्छन् । ती कारणहरूमा घरायसी झगडा, बेमेल, पारिवारिक मायाममताको अभाव, गरिबी, अभाव र गलत सङ्गतमा परेका साथीको संगत आदि रहेको देखिन्छ ।
साथीभाइको खराब संगत अनि लागूऔषधिको सेवनका लागि करकापबाट पनि यसको कुलतमा पुग्छन् । अर्को प्रमुख कारण भनेको युवा र युवतीबीचको प्रेममा असफल भएपछि लागूपदार्थको दुव्र्यसनीको सहारा लिने अवस्थामा पुग्छन् । आजका आम युवावर्गमा रहेको अर्को मुख्य कारक बनेको छ, सामाजिक सन्जालको दुरुपयोग । यसको गलत प्रयोगले गर्दा पनि लागूपदार्थको उपयोग बढेर गएको देखिन्छ । प्रविधिको बढ्दो प्रयोगले सकारात्मकभन्दा नकारात्मक परिणाम धेरै देखिन्छ । मानसिक तनाव कम गर्ने बहानामा पनि मानवले लागूपदार्थको सहारा लिने गरेका सयौँ दृष्टान्त पाइन्छ । मोबाइलमा युट्युब भाइबर फेसबुकको प्रयोग कम्प्युटर, टिभीजस्ता प्रविधिको बढ्दो प्रयोगले गर्दा मानवमा अनेकौं सामाजिक समस्याको सिर्जना भएको देखिन्छ । किशोर अवस्थामा विशेष ध्यान दिन सकिएन भने कुनै पनि समयमा छोराछोरी कुलतमा फस्न पुग्छन् ।
हरेक अभिभावकले आफ्ना छोराछोरी कहाँ जान्छन् ? उनीहरूको मिल्ने साथीहरू कस्ता छन् ? उनीहरूले दिनचर्या कसरी बिताउँछन् ? भन्ने सवालमा सबै सजग हुनु जरुरी हुन्छ । किशोरावस्थामा छिट्टै गलत संगतमा पुग्ने सम्भावना ज्यादा भएकाले यस उमेरमा हरेक अभिभावकले आफ्ना छोराछोरीप्रति विशेष निगरानी राख्नुपर्ने हुन्छ । घरमा मात्र नभई उनीहरूको विद्यालयमा, अत्यन्तै मिल्ने साथीको बारेमा समेत जानकारी राख्नुपर्ने हुन्छ । यसरी गरिने व्यवहार तथा निगरानी दुवै तरिकाले गर्न सकिन्छ । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गर्नुपर्ने पनि हुन्छ । यस बेलाको सामान्य निगरानीले पनि महत्व राख्ने भएकाले यस्ता क्रियाकलापले छोराछोरीले यदि गलत मार्ग समाएका रहेछन् भने पनि सुधार्न सकिन्छ ।
उनीहरूले सही मार्ग नै अवलम्बन गरिरहेका भए पनि कुनै पनि समयमा गलत मार्गतिर जाने सम्भावना प्रबल रहन्छ । त्यसकारण उचित र आवश्यक मात्रामा माया रेखदेख तथा बेलाबेलामा कतै बाटो बिराएका त छैनन् ? भनेर चनाखो रहनुपर्छ । छोराछोरीलाई चाहिनेभन्दा बढी माया, जति रुपैयाँ माग्यो त्यति नै बिनासोधखोज दिने बानीले पनि किशोरकिशोरीहरू गलत मार्गमा पुग्ने गरेका दर्जर्नौ दृष्टान्त पाइन्छन् । घरमा छोराछोरीलाई आवश्यक स्नेह, खानपिन, रेखदेख गर्दै उनीहरूका सहपाठी साथीहरूका बारेमा समय समयमा राख्नुपर्ने हुन्छ । यस्ता कार्यले सन्तानहरूले दुव्र्यसनीमा फस्ने र गलत मार्गमा पुग्ने सम्भावना ज्यादा कम हुन्छ ।
आजको समय प्रविधिको भएकाले कतिपय कुलतमा पुग्नुको कारण प्रविधिको दुरुपयोग भएको समेत पाइन्छ । घरपरिवारका सदस्यहरूबीचमा कुराकानी, छलफल, हाँसो, ठट्टा सबै हराएर गएका छन् । आजका अधिकांश युवावर्गको समय, मोबाइल, ट्याब, कम्प्युटर आदिमा भुल्ने एकोहोरो भएर त्यसैमा लट्ठ हुने प्रवृत्ति सर्वत्र देखिन्छ । लागूपदार्थको नकारात्मक प्रभावझैं छिटो नदेखिने भए पनि यसको प्रयोगले मानवको आँखा र मस्तिष्कमा असर पारिरहेको हुन्छ । आममानवले क्षणिक रूपको मनोरञ्जन र मस्तीलाई नै जीवनको मुख्य उपलब्धि ठानेका हुन्छन् । मन्द विषलाई सेवन गरेर अमूल्य जीवनलाई तनावबाट मुक्त हुने बहानामा लागूपदार्थको सेवनमा लाग्ने होनहार युवा वर्ग छन् ।
हाम्रो सन्दर्भमा खासगरी १६ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरीहरू लागूपदार्थको लतमा वा दुव्र्यसनीमा फस्ने गरेका विभिन्न अध्ययन र तथ्यांकले देखाउँछ । सहज रूपमा गाउँघरमा पाइने स्थानीय मादक पदार्थदेखि महँगा लागूपदार्थको उपयोग गर्ने युवा जनशक्तिको संख्या ठूलो रहेको देखिन्छ । गाँजा, चरेश, अफिम, भाङलगायतका दर्जनौं नामका लागूपदार्थको प्रयोगले ऊर्जाशील जनशक्तिलाई बर्बाद बनाइरहेको छ । समाजमा लागूपदार्थको खरिद–बिक्री गर्नेहरूको ठूलो सन्जाल रहेको देखिन्छ । यसको कारोबार गर्ने जमात, जुन सधैं प्रहरीसँग टाढा हुन चाहन्छन्, लागूपदार्थको प्रयोग गर्न प्रेरित गर्नेहरू पनि युवावर्ग नै हुन्छन् । उनीहरू पनि समूह बनाई आफ्नो सन्जाल बलियो र ठूलो नबाउन चाहन्छन् ।
लागूपदार्थको प्रयोगकर्ता सधैँ झुम्म हुने, लट्ठ पर्ने मात्र नभई एकोहोरो बन्ने, एकलकाटे हुने, अलिक असामान्य स्वभावका हुन्छन् । औषधिलाई समेत लागूपदार्थका रूपमा प्रयोग गर्नेहरूको ठूलो वर्ग रहेको छ । कुलत शब्दबाटै सही होइन भन्ने बुझिन्छ, तसर्थ सचेत र जीवनको महत्व बुझ्ने जोकोहीले लागूपदार्थको उपयोग गर्दैन । मानव जीवनको महिमा मनन गर्नका लगि शिक्षाको आवश्यकता रहन्छ । क्षणिक आनन्दलाई सबै चिज हो भनेर मान्ने हो भने त्यो सरासर गलत अनि भूल मात्र हो । मानवले सफल जविन व्यतीत गर्नका लागि सामान्य आनीबानीदेखि जटिल जीवनशैली अवलम्बन गर्नुपर्ने हुन्छ ।
आज सबै अभिभावकले जुनसुकै समस्याको सामना गरेर भए पनि छोराछोरीलाई पढाएका हुन्छन् । आफ्ना सन्तानको सुन्दर भविष्यको सपना साकार बनाउनका लागि हरतरहले प्रयास गरेका हुन्छन् । आमाबाबुको योजना र जुन सपना हुन्छ, त्यसलाई छोराछोरीले पनि बुझ्नुपर्ने हुन्छ । समग्रमा भन्ने हो भने किशोरकिशोरीले पनि सफल जीवनयापनका लागि सजग र सचेत भएर शिक्षा हासिल गरेर असल मानव बन्ने मार्गको अवलम्बन गर्नुपर्छ । समाजमा हुने कुनै पनि खराब कार्यमा एउटा असल र सचेत नागरिकले समाज सुधारको पक्षमा सकारात्मक कदम चाल्नुपर्छ । आम अभिभावकलाई चिन्ता भनेकै छोराछोरीले गलत र खराब संगतमा लागेर कुलतमा फस्न पुगी अमूल्य जीवनलाई बर्बाद बनाउँछन् कि भन्ने छ । आज होनहार युवा जनशक्ति लागूपदार्थको दुव्र्यसनीमा फस्न पुग्नु हरेक दृष्टिकोणले उचित होइन ।
देशको सुन्दर भविष्य निर्माण गर्ने युवा जनशक्तिलाई उत्पादनमुखी कार्यमा लगाई देशको अर्थतन्त्र बजबुत बनाउने दिशामा केन्द्रित हुने कार्यमा नीतिनिर्मातादेखि अन्य सबै तहका सरोकारवालाहरू गम्भीरतापूर्वक लाग्नुपर्ने खाँचो छ । सरकारले युवाकेन्द्रित नीति निर्माण गर्दै स्वदेशमा नै रोजगारीको सुनिश्चितता हुने वातावरण निर्माण गर्न विलम्ब गर्नु हुँदैन । राजनीति होस् या अन्य कुनै पेसा–व्यवसाय नै किन नहोस्, सबैतिर युवा लक्षित कार्यक्रमको निर्माण गरी त्यसको प्रभावकारी रूपमा कार्यान्यवन गर्नुपर्छ । हरेक अभिभावकले आफ्ना छोराछोरीको आनीबानी के–कस्तो छ ? कस्ता साथीभाइको सङ्गत गर्दै छन् ? मोबाइल तथा ल्यापटपमा के–कस्ता सामग्री हेर्ने गर्छन् ? भन्ने जस्ता सवालमा निकै चनाखो हुनु जरुरी हुन्छ ।
खासगरी विद्यालय जाने उमेर समूहका बालबालिकामा बढी ख्याल गर्नुपर्ने हुन्छ । समयमा बालबालिकालाई सही मार्गमा लगाउन सकिएन भने उनीहरूको भविष्य पनि बिग्रने अनि घर–परिवारमा पनि अशान्ति सिर्जना हुने भएकाले बेलैमा सजगता अपनाई गलत मार्गमा लाग्नबाट जोगाउनुपर्छ ।