एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्दै खाद्य कम्पनी «

एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्दै खाद्य कम्पनी


सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो ।
चामल खरिद गर्नका लागि कम्पनीले टेन्डर आह्वान गरेको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, “१ लाख ६२ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरेका छौं । खुला प्रतिस्पर्धामार्फत सबैभन्दा सस्तो कबोल गर्ने कम्पनीबाट खरिद गर्छौं ।” यसअघि धान खरिद गरी चामल कुटाएर बिक्री गर्दै आएकोमा गुणस्तरयुक्त धान नपाएपछि चामल खरिद गर्न लागेको उनले बताइन् ।
प्रत्येक वर्ष कम्पनीले धान खरिद गरी आफैं कुटाएर चामल बिक्री गर्दै आएको थियो । यो वर्ष लक्ष्यअनुसार धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा ७ हजार ४ सय ४२ क्विन्टल धान खरिद गरिएको छ । चालू आर्थिक वर्षमा ३ लाख २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा अहिले कम्पनीले एकदम कम परिमाणमा धान खरिद गरेको छ । व्यवसायीले किसानबाट धान थन्क्याउने समयमै खरिद गरिसकेपछि बजारमा अभाव भएको हो । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार अहिले १ लाख ६६ हजार ३ सय ४६ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ । सुगम जिल्लामा ६० हजार ६ सय ५२ क्विन्टल चामल, २४ दुर्गम जिल्लामा २३ हजार क्विन्टल चामल मौज्दात रहेको छ । दुर्गम र सुगम जिल्लामा गरेर ८३ हजार ६ सय ९३ क्विन्टल चामल मौज्दात रहेको कम्पनीले जानकारी दिएको छ । यस्तै कम्पनीसँग ७९ हजार ३ सय १५ क्विन्टल धान र ३ हजार ३ सय ३७ क्विन्टल गहुँ मौज्दात रहेको छ ।
कम्पनीले हालसम्म सुगम जिल्लामा ४४ हजार १ सय २० र दुर्गम २४ जिल्लामा ५७ हजार क्विन्टल खाद्यान्न वितरण गरेको जानकारी दिएको छ । दुर्गम जिल्लाहरूमा नियमित रुपमा खाद्यान्न ढुवानी भइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले गहुँ, सिमी लगायतका अन्य खाद्यान्न बिक्री गर्दै आएको छ । उपभोक्तालाई राहत दिनका लागि बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री गरिरहेको कम्पनीको भनाइ छ ।
कम्पनीले बिर्तामोडबाट सोना मन्सुली धान ९ सय ३० टन, रन्जित धान १.९ टन र सोना मन्सुली धान ९ सय ९६ टन खरिद गरेको जानकारी दिएको छ । यस्तै विराटनगरबाट ९ सय ९६ टन, लहानबाट १८ सय टन, जनकपुरबाट १८ सय टन, वीरगन्जबाट १८ सय टन र भैरहवाबाट १ हजार टन धान खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्