बर्डफ्लुले ४१ हजार कुखुरा नष्ट गरिँदै «

बर्डफ्लुले ४१ हजार कुखुरा नष्ट गरिँदै

हेटौंडा-मकवानपुरको हेटौंडा–७ स्थित कमाने क्षेत्रका कुखुरामा बर्डफ्लु रोग लागेको भेटिएपछि कुखुरा नष्ट गर्न सुरु गरिएको छ । शनिबार दिउँसोबाट कुखुरा नष्ट गर्न सुरु गरिएको हो । बर्डफ्लु संक्रमित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिसक्न ३ दिन लाग्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा स्थानीय किसानहरूसँग दुईदिनको छलफलपछि क्षतिपूर्ति निर्धारणको विषयमा सहमति जुटेपछि कुखुरा नष्ट गर्न थालिएको हो ।
जिल्ला कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारीका अनुसार बर्डफ्लुका कारण करिब तीन करोड रुपियाँको बराबरको नोक्सानी भएको छ । एउटा किसानको छ हजार वटासम्म कुखुरा नष्ट गरिने भएको अधिकारीले बताए ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको संयोजकत्वमा क्षतिपूर्ति माग गर्ने र वितरण गर्ने गरी समिति गठन भएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट खटिएको २१ जना प्राविधिक टोलीले तीन भागमा विभाजन गरेर त्यसक्षेत्रमा कुखरा नष्ट गर्न सुरु गरेका छन् । टोलीले बासुदेव कटुवालको विनिता पोल्ट्री फर्ममा रहेको कुखुरा नष्ट गरेका छन् । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुुख डा. चेतनारायण खरेलले किसानको खोरमा मारिएका कुखुरा किसानकै जग्गामा खाल्डो खनेर गाडिने बताए । “धमाधम कुखुरा मार्नको लागि टोली खटिएका छन् । सबै कुखुरा नष्ट गरिसक्न तीनदिन जति लाग्छ,” डा. खरेलले भने । मारिएका कुखुरा किसानको जग्गा नभएको खण्डमा सार्वजनिक जग्गामा गाडिने उनले बताए । किसानलाई क्षतिपूर्ति दिनको लागि कुखुरा नष्ट गर्नुअगाडि गणना गरेर रेकर्ड राखिएको छ ।
फागुनको पहिलो साता कमाने क्षेत्रमा धमाधम कुखुरा मर्न थालेका थिए । लगतै ल्याब परीक्षण गर्दा ढिलोे गरी तीनदिनअघि मात्र बर्डफ्लु भएको रिपोर्ट आएको थियो । बर्डफ्लु भएको पुष्टि हुने बित्तिकै स्थानीय प्रशासनले चारकिल्ला तोकेर शिलबन्दी समेत गरेको थियो । बर्डफ्लु भेटिएको हेटौंडा–७, कमाने पूर्वमा हेटौंडा उपमहानगरपालिका–६ नम्बर र ७ नम्बर वडाको सिमाना, पश्चिम वनदेवी मन्दिर जानेबाट, उत्तरमा वनदेवी दुग्ध उत्पादक संस्था तथा दक्षिणमा अग्राठे मन्दिरलाई आधार मानेर चारकिल्ला तोकिएको थियो ।
कमानेमा २०६९ सालमा पनि कुखुरामा बर्डफ्लु भेटिएपछि ११ हजार कुखुरा नष्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्