“कांग्रेसभीत्र समस्यै समस्या” «

“कांग्रेसभीत्र समस्यै समस्या”

खोटाङको हलेसीमा भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले कांग्रेसभीत्र हजारौ समस्या रहेको निष्कर्ष निकालेका छन् । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पराजय बेहोर्नुका कारण खोज्न त्रि–धार्मिकस्थल हलेसीको दर्शन गर्ने बाहनामा हलेसीमा भेला भएका कांग्रेस सभापतिहरुको भेलाले कांग्रेसभीत्र समस्याको चाँङ रहेको निष्कर्ष निकालेका छन् ।
जाम्बाला रिसोर्टमा भएको सभापतिको भेलाले पार्टीलाई शुद्धिकरण र सुदृढिकरण गर्नुपर्ने अति आवश्यकता देखिएको बताएका छन् । निर्वाचनमा कांग्रेसले भोगेको पराजय, पराजयका कारण, पार्टी नेतृत्वबाट भएका कमजोरी लगायतका बिषयमा भएको छलफलमा पार्टीले नयाँ अवधारणा र जनमुखी कार्य गर्न नसकेका कारण पार्टीले पराजय भोग्नु परेकोमा समेत गम्भिर छलफल भएको खोटाङ कांग्रेसका सभापति नरेशकुमार श्रेष्ठले बताए । उनले भने, “नेतृत्वले पार्टीलाई चलायमान बनाउन नसक्दा र आन्तरिक व्यवस्थापनमा ध्यान नपुर्याउँदा पार्टी कमजोर बनेको ठहर गरिएको छ ।
देश सघीय संरचनामा गइसकेकाले सोही अनुरुपको विद्यान निर्माणका लागि भेलाले काठमाडौं सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय बिद्यान परिमार्जन समिति गठन गरेको छ । समितिको सदस्यमा कालिकोट सभापति हर्कबहादुर बम, पाँचथर सभापति नरेन्द्र केरुङ, सिन्धुली सभापति उज्वल बराल र धादिङ सभापति रमेश धमला चयन भएका छन् । भेलाले आगामी जिल्ला सभापतिको राष्ट्रिय भेला नुवाकोटमा गर्ने निर्णय गरेको महासमिति सदस्य बिष्णुकुमार राईले बताए ।
यी हुन हलेसी बैठकले औल्याएका पार्टीका कमजोरीहरू :
निर्वाचन केन्द्रित राष्ट्रिय राजनीतिक मुद्दा नहुनु, विपक्षीको चुनावी तालमेलबाट हौसिएको जनमतलाई आकर्षित गर्ने नारा र एजेण्डा नहुनु, निर्वाचनको पूर्वसन्ध्यामा भएका लोकमानसिँह कार्की, सुशीला कार्की लगायतका प्रकरण तथा सरकारका काम र पार्टीको भूमिकाका कारण जनमत पार्टीको विपक्षमा हुनु, स्थानीय निर्वाचनमा पार्टीको उमेदवार चयन गर्ने काममा जिल्ला कार्यसमितिलाई भूमिकाविहीन बनाइनु, स्थानीय निर्वाचनमा एउटै पदमा दुई वा तीन जनासम्मलाई टिकट दिएर पठाउनु, कम्युनिष्टहरुको तालमेलपछि लोकतान्त्रिक गठबन्धनको हल्ला गरिनु तर संघीय समाजवादी फोरम, राष्ट्रिय जनाता पार्टी जस्ता दलहरुलाई समेट्न नसक्नु र जनाधार नभएका साना दलसँग निरर्थक तालमेल गर्नु पार्टीको कमजोरी भएको निर्णय गरिएको छ ।
यस्तै, स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल गर्नु तर सोही गठबन्धनलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म टिकाउन नसक्नु, कांग्रेसलाई विपक्षीहरुले लगाएका आरोपको राष्ट्रिय रुपबाट खण्डन हुन नसक्नु, पार्टीभीत्रको गुट–उपगुट अन्त्य गर्ने राष्ट्रिय नीति अख्तियार नहुनु, कतिपय जिल्लामा आन्तरिक विवादले पार्टी कमजोर हुनु, व्यक्तिगत आग्रह पूर्वग्रह राखिनु र टिकट वितरणमा नातावाद र नजिकबादको पक्षमा रहनु पार्टीको कमजोरी भएको निष्कर्ष निकालिएको छ यस्तै, सभापतिहरुको उक्त बैठकले पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरेर अगाडि बढ्नु पर्ने निष्कर्ष समेत निकालेका छ्न् । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस पराजित हुनुमा पार्टी सभापतिदेखि केन्द्रीय सदस्यहरुको कमजोरी भएको जिकिर गरेका छन् । राष्ट्रिय भेला डाक्न नेतृत्वलाई दबाब दिने निर्णय पनि भएको खोटाङ कांग्रेसले जनाएको छ ।
राष्ट्रिय भेलाका लागि नेतृत्वलाई दबाब
चुनावको परिणाम पछि विभिन्न गुटहरु जुर्मुराई रहेका बेला हलेसी बैठकमा सहभागि कांग्रेसका जिल्ला सभापतिहरुले आफुहरुको भेला गुटगत नभएको दावी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निकटहरुको मात्र भेला रहेको आरोप आईरहेको भन्दै सभापतिहरुले त्यो झुट भएको जनाएका छन् । तर आफुहरुले यसअघि काठमाडौं, सिन्धुपाल्चोक र भक्तपुरमा भेला गरेको स्वीकार भने गरेका छन् । ती भेलाहरुमा संस्थापन पक्षीय जिल्ला सभापतिहरुको भने सहभागि थिएन । उनीहरुले कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला नुवाकोटमा आयोजना गर्न नेतृत्वलाई दवाव दिने निर्णय गरेको बताएका छन् । निर्वाचनको समीक्षा गरेर पार्टीलाई सुदृढिकरण गर्दै आगामी ५ वर्षमा मजबुद पार्टी बनाउनका लागि ठोस योजना बनाउने उदेश्यले सभापतिहरुको राष्ट्रिय भेला बेलाउन जरुरी रहेको सभापतिहरुको भनाई छ । बैठकले सीमा अतिक्रमण रोक्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने, भूकम्प पीडितहरुका लागि कम्तिमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिनुपर्ने, भूकम्प पीडितहरुको आवास निर्माणको समयावधि थप गर्नुपर्ने, बाढी पीडित र अग्नी पीडितहरुलाई सबै खाले सहयोग प्रदान गरिनुपर्ने, पञ्चायतकाल तथा माओवादी द्वन्द्वका क्रममा मारिएका सबैलाई सहिद घोषणा गरिनुपर्नेलगायतका निर्णय गरेर नेतृत्वलाई तत्काल काम गर्न दवाव दिईने निर्णय भएको छ । तत्काल महासमितिको बैठक बोलाउँनु पर्ने र सवैलाई अनिवार्य सहभागी गराईनुपर्ने समेत माग गरिएको छ । बर्तमान राजनीतिक परिस्थितको समिक्षा गर्दै कांग्रेसको भविष्यको समेत खोजी गर्नुपर्ने आवश्यक रहेको ठहर गरिएको छ ।
हलेसीको पर्यटन प्रवर्धनका लागि सभापतिको प्रतिबद्धता
कांग्रेसका जिल्ला सभापतिहरुले त्रि–धार्मिकस्थल एबं पर्यटकीयस्थल हलेसीको पर्यटन प्रवर्धनका लागि सामूहिक प्रतिबद्धता जनाएका छन् । खोटाङकै प्रमुख आर्थिक केन्द्रकारुपमा रहेको हलेसीको प्रचार–प्रसार गर्दै पर्यटन प्रवर्धनका लागि सभापतिहरुले प्रतिबद्धता जनाएका हुन् । हलेसीको पर्यटन प्रवर्धनका लागि सरकार र पार्टी नेतृत्वसमक्ष माग राख्ने निर्णय गरिएको सहभागीहरुले बताएका छन् ।
हलेसी एतिहाँसिक महत्व बोकेको ठाँउ रहेकोले तीव्र विकाससंगै प्रचार प्रसारमा समेत पहल गर्ने सभापतिहरुले प्रतिबद्धता गरेको नुवाकोट सभापति जगदिश्वनरसिं केसीले बताएका छन् । हलेसीको पर्यटन विकासका लागि सरकार र पार्टी नेतृत्वसंग पहल गर्नेमा आफु प्रतिबद्ध रहेको केसीको भनाई छ । काभ्रे जिल्लका सभापति मधु आचार्यका अनुसार, “हलेसीमा विभिन्न जिल्लाका सभापतिले अवलोकन गरेको र मान्यता राख्ने एतिहाँसिक तथ्यहरुको जानकारी पाउँने अवशर प्राप्त भएका कारण हलेसीको विकासका लागि अत्यन्तै सुन्दर प्रभाव लिएर फर्केका छौं ।” उनले भने, “भेलाबाट दीर्घकालिन बृहत्तर विकासका लागि सरकारले कार्यक्रम संचालन गर्नुपर्ने माग गरिएको छ ।”
भेलामा सहभागी हुनका लागि ७७ जिल्लाका सभापतिहरुलाई वोलाइएको भएपनि ३२ जिल्लाका जिल्ला सभापतिहरुको उपस्थिति रहेको कांग्रेस खोटाङले जनाएको छ ।

उत्तम चौलागाँई

प्रतिक्रिया दिनुहोस्