Logo

मंगलामा संस्था दर्ता विधेयक पारित

म्याग्दी- मंगला गाउँपालिकाको १२औं गाउँसभाबाट अर्धवार्षिक समीक्षासहित थप ३८ लाख बजेट विनियोजन गरेको छ । शुक्रबार बाबियाचौरमा भएको गाउँसभाबाट माग भई आएका योजनामध्ये अतिआवश्यक १६ वटा योजनालाई सो बजेट विनियोजन गरिएको हो ।
गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा अर्धवार्षिक समीक्षा, बजेट संसोधन, निर्णयहरू अनुमोदनलगायतका विषयमा कार्यपालिका सदस्यबीच छलफल भएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए । गाउँसभाबाट विभिन्न समयमा भएका निर्णयहरू अनुमोदन गरिएको छ भने पाँचवटा कानुन पारित भएको छ । प्रमुख प्रशासकीय अधिकृत ढुंगानाका अनुसार संस्था दर्ता ऐन, लेखा समिति संचालन कार्य समिति ऐन, विद्यायन (कानुन) निर्माण समिति, विषयगत समिति संचालन कार्यसमिति र श्रमिक डेस्क संचालन समिति ऐन निर्माणसँंगै कार्यान्वयनका लागि गाउँसभाबाट पारित भएको छ । संस्था दर्तासम्बन्धी विधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नवीकरणसम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ ।
गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले चालू आर्थिक वर्ष २०७८-०७९ को प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाको चालूतर्फ २६ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट मध्ये नौ करोड ५० लाख ३० हजार खर्च भएको र पुँजीगतर्फ १६ करोड ८ लाख चार हजार रुपैयाँ बजेटमध्ये दुई करोड १० लाख १० हजार रुपैयाँ बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ढुंथानाले बताए । गाउँपालिकामा रहेको ४२ करोड ५६ लाखमा कुल बजेटमा २७.२६ प्रतिशत खर्च भएको छ ।
चालू आर्थिक वर्षमा रहेको १ सय १० वटा योजनामध्ये ५७ वटा योजना कार्यान्वयनका लागि सम्झौता भएको छ भने चारवटा योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले योजना कार्यान्वयनलाई प्रभावकारी रूपमा समयमै सम्पन्न गराउन कर्मचारी र वडाका जनप्रतिनिधि सक्रिय हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्