प्रदेश १ मा खोटाङका दुई मन्त्री

खोटाङबाट प्रत्यक्ष निर्वाचित दुई जना प्रदेश सांसदले प्रदेश १ मा मन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तारका क्रममा खोटाङ प्रदेश सभा (क) का सांसद राजन राईलाई सामाजिक विकास मन्त्री र प्रदेश सभा (ख) का सांसद रामकुुमार राई ‘पासाङ’ लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी दिएका हुन् ।
दलीय भागबण्डाका क्रममा राजन नेकपा एकीकृत समाजवादी र रामकुमार नेकपा माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएका हुन् । सामाजिक विकास मन्त्रीको जिम्मा पाएका राजन नेकपा एमालेबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका राई हाल सो पार्टीको पोलिटब्युरो सदस्य छन् ।
यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी पाएका रामकुमार नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद निर्वाचित भएका हुन् । उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
मुुख्यमन्त्री राईले प्रदेशमा आज ८ जना मन्त्री नियुुक्त गरेका छन् । आज थप ८ जना मन्त्री नियुक्त भएपछि प्रदेश १ को मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । नवनियुक्त मन्त्रीहरूलाई आइतबार नै प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका छन् ।