बालुवाटार बैठक
संसद् खुलाउन सभामुखले राजीनामा दिनुपर्छ : एमाले

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न भएको छलफलमा स्थानीय तहको निर्वाचन, संसद्को गत्यावरोधको अन्त्य तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका विषयमा छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले सरकार र प्रतिपक्षीबीच सम्वादको क्रम सुरु भएको जानकारी दिए । प्रधानमन्त्री देउवाले यसलाई निरन्तरता दिने र नियमित छलफल गर्ने सो अवसरमा प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
सो अवसरमा प्रधानमन्त्रीले एमालेलाई एमसीसीलगायतका विषय अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । बैठकमा माओवादीका अध्यक्ष प्रचण्डले एमसीसीलाई संघीय निर्वाचन पछाडि मात्रै सम्बोधन गर्ने गरी प्रमुख प्रतिपक्षीसहित आग्रह गरौँ भन्ने धारणा राखेको महासचिव पोखरेलको भनाइ छ । सो सन्दर्भमा सत्ता पक्षले सरकार र गठबन्धनको तर्फबाट प्रष्ट धारणा राख्न एमालेले आग्रह गरेको थियो ।
प्रधानमन्त्रीले राष्ट्रिय सरोकारका मुद्दामा छलफल हुने वातावरण बनाउन र संसद्को बैठक नियमित कारबाहीमा प्रवेश गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षीलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको सो आग्रहका सन्दर्भमा एमालले आफूहरू उपस्थित भएर भाग लिने वातावरण बनाउन तयार भएको र त्यसका लागि आफूहरूले कारबाही गरेका १४ सांसदको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको निर्णयका कारण असजिलो भएको धारणा राखेको थियो ।
‘१४ गैरसांसदलाई राखेर संसद्लाई राखेर प्रतिनिधिसभा चलाउने भनिएको छ । दलले कारबाही गरेका व्यक्तिलाई राखेर सदन चलाउने कुरा हुन सक्दैन । त्यो निर्णय सच्चिनुपर्छ । यदि नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपछ,’ महासचिव पोखरेलले भने । छलफलमा स्थानीय तहको निर्वाचन, कोभिडको खोपको अपचलन र एक विभागीय मन्त्रीले हिंसालाई प्रोत्साहन गरेको र उहाँलाई कुनै कारबाही नभएको सन्दर्भमा एमालेले सरकारको ध्यानाकर्षण गराएको थियो । मुलुकमा देखिएको वित्तीय संकटको बारेमा छलफल भएको र सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने एमालेको आग्रह थियो । छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहहादुर कार्कीको सहभागिता थियो ।
ओली सात महिनापछि बालुवाटारमा
प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेका थिए । सोही दिन नै ओलीले बालुवाटार छाडेका थिए । यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका थिए । प्रधानमन्त्री देउवा बालकोट पुगेको करिब एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार भएका हुन् ।