सरकार कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न लागिपरेको छः राणा

सरकार कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न लागिपरेको भन्दै राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले आपत्ति जनाएका छन् । सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा समितिको सल्लाह नचाहिने र प्रधानमन्त्री स्वयम्ले सेना परिचालन गर्न सक्ने तयारी आपत्तिजनक रहेको उनको भनाइ छ ।
“प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न उद्दत छन्, जुन हामीलाई स्वीकार्य छैन,” जनताबीच राप्रपा (संयुक्त) कार्यक्रम अन्तर्गत बाल मन्दिरको मैदानमा आयोजित आमसभालाई शनिबार सम्बोधन गर्दै राणाले भने । नेत्र विक्रम चन्दलाई इंगित गर्दै प्रधानमन्त्रीले घुमाउरो पारामा धम्की दिएको भन्दै राणाले आफ्नो निष्ठामा सम्झौता नगर्ने भन्दै चुनौती दिए । “प्रधानमन्त्रीले हामीलाई धम्की दिनुभयो तर धर्म, संस्कृति, परम्परा, नेपाली जनताको हक सुरक्षित गर्न हामी डगमगाउँदैनौं ।”
सिके राउतले राष्ट्रिय अखण्डतामाथि चुनौति दिएको बखतमा प्रधानमन्त्रीले ओलीले मौनता साँधेको भन्दै राणाले सरकारको आलोचना गरे । “नेपाली अस्तित्व र अखण्डतामाथि प्रश्न उठाइँदा पनि प्रधानमन्त्री बोल्दैनन् । त्यसकारण प्रधानमन्त्री ओलीलाई सोध्न चाहन्छु, तपाईंको राष्ट्रियता कहाँ हरायो ?”
कांग्रेस र कम्युनिष्टहरुले धर्मनिरपेक्ष लादेर देश र जनतालाई अन्याय गरेको उनले बताए । “धार्मिक साम्राज्य कामय गर्ने विदेशीहरुको बदनियत स्वीकार गरेर कांग्रेस र कम्युनिष्टहरुले कसैसँग सल्लाह नगरी धर्मनिरपेक्ष लादेर अन्याय गरे,” उनले भने ।
हिन्दू राष्ट्रका साथै राजसंस्था पुनस्र्थापना गर्ने प्रस्ताव उनले अघि सारे । देशमा गाईजात्रा मञ्चन भइरहेको भन्दै राणाले भने, “सबै नेपाली, दल, बुद्धिजीवीलाई समान व्यवहार हुने, सम्मान हुनै कुनै दलको नहुने राजसंस्था कायम गर्नुपर्दछ ।”
पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानमा संशोधनको आवश्यकता रहेको बताए । “संविधानमा हिन्दू पहिचान कायम गर्न संविधानमा संशोधन हुन आवश्यक छ । वैदिक सनातन हिन्दू राष्ट्रको पहिचान कायम गर्ने लक्ष्य आवश्यक परे हामी आन्दोलन गरेरै भए पनि पूरा गर्नेछौं,” अध्यक्ष लोहनीले भने, “देशमा अहिले धर्म परिवर्तनको श्रृंखला चलेको छ, जो निन्दनीय छ । हामी सबै धर्मको सम्मान गर्छौं, सबै धर्म क्रान्तिकारी छन् । यद्यपि सरकार नै होली वाइन खाएर देशको धर्म परम्परा, राष्ट्रियता धराशयी बनाउन लागिपरेको छ । त्यसको विरुद्ध हामी खबरदारी गर्छौ, राष्ट्रहितको पक्षमा हाम्रो कर्तव्य पूरा गरेरै छाड्छौं ।”