उत्साहजनक शालीनदी मेला

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिनबाट श्री स्वस्थानी व्रतकथा प्रारम्भ हुने गर्छ । पौष शुक्ल पूर्णिमामा सुरु भएको यो व्रतकथाका ३१ अध्याय अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । यस वर्ष भने माघ ३ गते पौष शुक्ल पूर्णिमा परेकाले यस दिनबाट श्री स्वस्थानी व्रतकथाको प्रारम्भ भई फागुन ४ गते पूर्णिमाको दिनमा समाप्ति गरिनेछ ।
अधिकांश धर्मावलम्बीहरू पौष शुक्ल पूर्णिमाको दिनबाट माछामासु, लसुन, प्याजसमेत नखाई दैनिक स्नान गरी स्वस्थानी पढ्ने गर्छन् भने कैयौं भक्तजन एक महिनासम्म व्रत बस्ने गर्छन् । यति बेला कठिन रूपमा व्रत बसी भगवान् शिवको पूजा–आराधना गरिन्छ । यस एक महिनाको अवधिभरिमा प्रत्येक शिवालय मन्दिरहरूमा भीड हुने गर्छ । किंवदन्तीअनुसार सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको मनोकामना पूरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास छ । विशेष गरी महिलाहरूले यो व्रत बस्नाले व्रतकथामा वर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको कुरा पौराणिक धर्मग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथाप्रति मानिसहरूको अत्यधिक आस्था रहेको छ ।
पौष शुक्ल पूर्णिमाको दिनबाट काठमाडांैको साँखुस्थित शालीनदी र देशभरका शक्तिपीठ तथा नदीहरूमा व्यापक भीड हुने गर्छ । जाडो मौसम, त्यसमाथि पर्वतीय तटको चिसो खोलाको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारेर स्नान गरेर फर्किनेहरूको भगवान्प्रतिको आस्था अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुने गर्छ । त्यस धार्मिक पीठमा पाउ राख्न पाउँदा र त्यहाँको जल मात्रै छर्किन पाउँदाको आनन्द भिन्दै हुन्छ । देशभरका धर्मावलम्बीहरू यतिबेला टाढा–टाढादेखि प्रभुको दर्शन र स्नान गर्ने हेतुले आउने गर्छन् । अन्य समयमा साँखु जाँदा त्यहाँ केही छ जस्तो लाग्दैन, सामान्य स्थान जस्तो लाग्छ । तर, यति बेला त्यहाँ बजार नै लाग्ने गर्छ । यही एकमहिने मेलाको अवसर पारेर व्यापारीहरूले आफ्ना सामानहरू सेलमा बेच्नेदेखि विभिन्न प्रकारका भोजनालयहरूको स्थापना गर्ने गर्छन् । यस समयमा सामानहरू अन्य समयमा भन्दा सस्तोमा पनि पाइन्छ ।
यस वर्ष ओमिक्रोनको संक्रमण बढेका कारण मैले शालीनदी जाने अवसर भनेचाहिँ पाएको छैन । तर, मेरा इष्टमित्र, आफन्तजनहरूका अनुसार विगत दुई वर्षयता कोरोना कहरको कारणले गर्दा पहिलेको दाँजोमा शालीनदी मेलामा भीड कम देखिएको भनाइ थियो । मन्दिर परिसरमा समितिका स्वयंसेवकहरूले साबुनपानी, स्यानिटाइजर, मास्क, खानेपानी तथा प्राथमिक उपचारहरूको व्यवस्था गरेको र मास्क नलगाउनेहरूलाई अनिवार्य मास्क लगाएर मात्र परिसरमा पस्न दिइएको सुन्नमा आएको थियो ।
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले बनाएको नयाँ नियमअनुसार व्रतमा सहभागी हुन आउनेको पीसीआर टेस्ट र छातीको एक्सरे गरि रिपोर्ट आएपछि मात्रै व्रतका लागि योग्य मानिनेछ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी २० देखि ५० वर्ष उमेर समूहकाले मात्र व्रत बस्न पाउने व्यवस्था गरिएको छ । गत वर्ष व्रतालुको संख्या ३ सयभन्दा धेरै थियो । तर, यस वर्ष कोभिड–१९ को महामारीका कारण समितिले ५० जनाको मात्र संख्या तोकेको छ । व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूरदर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ । साथै मेलामा आउने भक्तजनका लागि मास्कका साथै दूरी अनिवार्य कायम गरिएको आयोजक समितिले जनाएको छ । जुन अहिलेको परिप्रेक्ष्यमा एकदम जरुरी र अत्यावश्यक कुरा हो भने समितिको नियमलाई पालना गर्नु हाम्रो दायित्व हो ।