घरेलु उद्योगबाट वार्षिक सवा तीन लाखलाई रोजगारी

देशमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्नेमा लघु, घरेलु तथा साना उद्योग अगाडि देखिएका छन् । अर्थतन्त्रमा ठूलो टेवा दिने मानिएका यी उद्योगबाट वार्षिक सवा तीन लाख रोजगारी सिर्जना हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ ।
उद्योग विभागका अनुसार लघु, घरेलु तथा साना उद्योगहरूबाट हालसम्म ३२ लाख ८९ हजार ५ सय १६ रोजगारी सिर्जना भएको छ । जसमध्ये गत आर्थिक वर्षमा मात्र तीन लाख ११ हजार ६ सय ९३ रोजगारी सिर्जना भएको छ । गत वर्ष कोभिड महामारीकै बीच पनि उद्यमशीलतको विकास उत्साहजनक रहेको छ । ८९ हजार ९ सय २४ उद्यमी दर्ता भएकोमा ४३ हजार ५ सय ६६ महिला उद्यमी र ४६ हजार ३ सय ५८ पुरुष उद्यमी रहेका छन् । यसरी लैंगिक दृष्टिकोणले पनि लघु, घरेलु तथा साना उद्योगमा महिला र पुरुषको करिब–करिब समान सहभागिता देखिएको विभागका निर्देशक ज्ञानेन्द्र पराजुली बताउँछन् । उनका अनुसार गत वर्ष कोरोना महामारीका बीचमा पनि उद्यमशीलता विकास हुनु निकै सकारात्मक कुरा हो ।
गत आर्थिक वर्षसम्म ६ लाख २ हजार ९ सय २१ लघु, घरेलु तथा साना उद्योग दर्ता भएकोमा अधिकांश प्राइभेट फर्म रहेका छन् । हालसम्म ५ लाख ४४ हजार ९ सय ४५ प्रइभेट फर्म तथा २९ हजार ३६ साझेदारी फर्म र ३४ हजार ५ सय २९ प्रालि दर्ता भएका छन् । यी उद्योग हालसम्म ८ खर्ब १ अर्ब ८९ करोड रुपैयाँ लगानी भएको छ । गत वर्षमात्र यी उद्योगमा १ खर्ब ८५ अर्ब २० करोड रुपैयाँको लगानी दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा लघु, घरेलु तथा साना उद्योगमा लगानीको आकर्षण बढेको र कोभिडपछि कतिपय यस्ता उद्योग धरासायी भए पनि नयाँ लगानी थपिने गरेको बताउँछिन् । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्केकाहरूले यस्ता क्षेत्रमा लगानी गर्ने गरेका छन् । “अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान बढी नै रहेपनि त्यसअनुसार राज्य गम्भीर भएको देखिँदैन,” राणा भन्छिन्, “नेपालमा उत्पादित वस्तुहरूलाई बढी गुणस्तरीय बनाई प्रतिस्पर्धाको माध्यमबाट आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा जोड दिनको लागि घरेलु तथा साना उद्योगहरूको विकासमा सबैले ध्यान दिनुपर्छ” अर्थतन्त्रला दिगो बनाउन लघु, घरेलु तथा साना उद्योगहरूको महत्वपूर्ण भूमिका रहने भएपनि उत्पादनमूलक उद्योगको संख्या तुलनात्मक रुपमा कम हुनु चिन्ताको विषय रहेको सरोकारवालाहरू बताउँछन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह नेपाल जस्तो विकासोन्मुख राष्ट्रको आर्थिक विकास र समृद्धिको आधार नै लघु घरेलु तथा साना उद्योग हुनसक्ने बताउँछन् । उनका अनुसार उद्यमशीलता विकासको माध्यमबाट घरघरमा सिर्जना गर्ने तथा पुँजीका लागि विदेशीको भर पर्नु नपर्ने एवं ठूलो संख्यामा रोजगारी सिर्जना गर्नसक्ने क्षेत्र भएकाले यसलाई राज्यले प्राथमिकतामा राख्नु आवश्यक छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आव २०७७-०७८ मा जीडीपीमा उत्पादनमूलक उद्योगको हिस्सा ५.०८ प्रतिशत रहेको अनुमान छ । यसमध्ये करीब ९० प्रतिशत योगदान घरेलु तथा साना उद्योगहरूको रहेको उद्योग विभागको दावी छ ।