भ्रष्टाचार भएको प्रमाणित भए राजनीतिबाटै संन्यास लिन्छु

यदि समयमै निर्वाचन भयो भने स्थानीय तहका जनप्रतिनिधिको कार्यअवधि करिब तीन महिनामात्रै बाँकी छ अब । पाँच वर्षमा जनप्रतिनिधिले के–कस्ता र कति काम गरे भनेर लेखाजोखा भइरहेको छ । कतिपय स्थानीय तहले कोरोना महामारीका बीच उदाहरणीय कार्य गरेका छन् । धेरैजसो स्थानीय तह भ्रष्टाचारको अखडा भएको गुनासो पनि आउने गरेको छ । तर, स्थानीय तहले जनतालाई वास्तविक संघीयताको महसुस गराएको मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया बताउँछन् । आफ्नो नगरपालिकामा भ्रष्टाचार भएको प्रमाणित भए आफू राजनीतिबाटै संन्यास लिने उनले उद्घोष गरे । नगरपालिकाभित्र हुने विकास निर्माणका काम ९० प्रतिशत टेन्टरमार्फत ठेक्का लगाएर हुने गरेको मेयर बगडियाको दाबी छ । गुणस्तरीय काम गर्न र आर्थिक अनियमिता हुन नदिन उपभोक्तामार्फत हुने विकास निर्माणका काम रोक्नुपर्ने उनको जोड छ । उद्योगीसमेत रहेका बगडिया समाजसेवाका लागि राजनीतिमा लागेको प्रस्टीकरण दिन्छन् । स्थानीय तहको महत्व , जनताले प्राप्त गरिरहेका सेवासुविधा, स्थानीय तह सञ्चालनमा देखिएका समस्या, भावी योजनालगायतका विषयमा केन्द्रित रहेर मेयर बगडियासित कारोबारकर्मी मीनकुमार नवोदितले गरेको कुराकानीको सार :
तपाईं त उद्योग–व्यवसाय गर्ने व्यक्ति, राजनीतिमा लागेर मेयर हुनुभयो, उद्योग–व्यवसाय सञ्चालन गर्न सजिलो कि राजनीति गर्न ?
हेर्नोस्, सजिलो भन्ने यो संसारमा केही छैन । आ–आफ्नो ठाउँमा सबै सजिलो र अप्ठ्यारो हुन्छ । म पहिलो त उद्योगी नै हो । मेरो गास, बास र कपास उद्योग–व्यवसायबाटै प्राप्त हुन्छ । राजनीतिमा लाग्नुको कारण भनेको समाजसेवा गर्न हो । त्यसैले मैले राजनीतिलाई विशुद्ध सेवाका रूपमा आत्मसात् गरेको छु । मैले मोरङकै पुरानो नगर रंगेलीको मेयर जितेपछि के–कति काम गरेको छु भन्ने कुरा तपाईंहरूले मूल्यांकन गर्ने हो । मैले आफैं भन्ने कुरा होइन । तपाईंहरूजस्ता पत्रकारहरूले हेरिदिनुस् र पहिला र अहिलेको मूल्यांकन गरिदिनुहोस् भन्ने मेरो आग्रह छ । यहाँका जनतालाई सोध्नुहोस् के कति काम भएका छन् भनेर, उनीहरूले भन्छन् । म जुन उद्देश्यका साथ राजनीतिमा लागेको थिएँ, त्यसबाट खुसी छु । हरेक क्षेत्रमा चुनौती र समस्या हुन्छन् त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ ।
आफूले गरेको कामका बारेमा भन्न किन अप्ठ्यारो मान्नुभएको ?
अप्ठ्यारो मानेको होइन । मैले बढाएर पनि भन्न सक्छु, तपाईंहरू आफैंले हेर्नुभयो भने विश्वास पनि हुन्छ भन्न खोजेको हुँ । हामी जनप्रतिनिधि आइसकेपछि धेरै नै काम भएका छन् । म मेयर भएर आउनुभन्दा अगाडि एक किलोमिटर पनि रंगेलीमा कालोपत्रे थिएन । सबै ग्राभेल र कच्ची सडकमात्रै थियो । हामी आइसकेपछि ९० किलोमिटरभन्दा बढी त कालोपत्रे सडक बनाएका छौं । हाम्रो बजेट भनेको ७० करोड हो । त्यसैबाट शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरूलाई तलब खुवाउनुपर्छ । विकास बजेट भनेको करिब १५ करोड मात्रै हो । हामीले सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरेर जनताका समस्या समाधान गर्नेतर्फ लागेका छौं ।
तपाईंलाई कसैले पाँचवर्षे अवधिमा के काम गर्नुभयो भनेर सोध्यो भने ठ्याक्कै के जवाफ दिनुहुन्छ ?
मोरङको पुरानो सदरमुकाम भए पनि विकासमा पछि परेको पालिका हो रंगेली । मैले अघि पनि भनें, हामी आउँदा एक किलोमिटर पनि कालोपत्रे थिएन यहाँ । अहिले ९० प्रतिशत सडक कालोपत्र भइसकेको छ । हामीले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेका छौं । जसले ग्रामीण क्षेत्रमा उत्पादित वस्तुलाई कृषकले सहजै बजारसम्म पु¥याउन सकून् । सडक भयो भने अन्य धेरै विकास हुन्छ । विकासको पूर्वाधार भनेको सडक नै हो । ६ सय मेट्रिक टन क्षमताको कृषि शीतभण्डार निर्माण गरेका छौं । धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मानिएको सन्सारीमाई मन्दिरलाई प्रदेश सरकारको १४ करोड लगानीमा व्यवस्थित र आकर्षक बनाएका छौं । संघीय सरकारको २३ करोड लगानीमा कृषि थोकबजार निर्माण गरेका छौं । दुईवटा सडक प्रदेश र तीनवटा सडक संघीय सरकारअन्तर्गतको बजेटमा धमाधम निर्माण भइरहेको छ । तराई–मधेस सडक, संघीय सांसद कोषबाट रणनीतिक सडक, दुईवटा सडक आरसीआईपीमार्फत निर्माण भएको छ । यसबाहेक नौवटा वडामध्ये सातवटा वडाका आफ्नै भवन निर्माण गरिसकेका छौं । हामी आउनुभन्दा अगाडि १, ८ र ५ वडाको मात्रै आफ्नै भवन थियो । अब २ वटा वडाको भवन पनि निर्माण भइरहेकाले चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ । सुविधासम्पन्न सभाहल निर्माण पनि भएको छ । शिक्षा, स्वास्थ्यमा पनि धेरै नै काम भएका छन् ।
रंगेली त कृषिका लागि उर्वर क्षेत्र पनि हो, कृषिलाई बेवास्ता गरेको देखियो नि ?
सुरुका दिनदेखि नै कृषिलाई त हामीले उच्च प्राथमिकतामा राखेका छौं । अनुदानमा गाई, अनुदानमा धानको बीउ उपलब्ध गराएका छौं । कृषक, नगरपालिका र संघीय सरकारको त्रिपक्षीय अनुदानमा मकै छुटाउने मेसिन हस्तान्तरण गरेका छौं । अनुदानमा कृषकको पनि लगानी हुनुपर्छ । किनभने उहाँहरूमा पनि अपनत्व होस् भन्ने हाम्रो उद्देश्य हो । आफ्नो लगानी भएपछि स्वाभाविक रूपमा ऊ जिम्मेवार हुन्छ । त्यो क्षेत्रलाई माया गर्छ । लगानीको बढीभन्दा बढी प्रतिफल प्राप्त गर्न खोज्छ । त्यही भएर पनि अनुदानमा कृषकलाई सहभागी गराएका हौं ।
तपाईंले त अब रंगेली नगरपालिकामा विकासका काम केही गर्न बाँकी छैन जस्तो कुरा गरिहनुभएको छ ? विकासका सबै काम सक्नु भएको हो ?
विकास भनेको कहिल्यै सकिँदैन । युरोप र अमेरिकामा त विकास सकिएको छैन भने नेपालजस्तो मुलुकमा विकास सकिने कुरै भएन । मैले भनाइको तात्पर्य के बुझ्नुहोस् भने रंगेलीमा धेरै काम भएका छन् । हामीसँग भएको सीमित स्रोतसाधनले भ्याएसम्म जनताका इच्छा र चाहना पूरा गर्ने प्रयास गरिरहेका छौं ।
स्थानीय तह भ्रष्टाचारको अखडा भए भन्ने गुनासो आउने गरेको छ, रंगेलीमा भ्रष्टाचार नै नभएको हो कि बाहिर नआएको हो ?
हाम्रो नगरपालिकामा कुनै किसिमको भ्रष्टाचार भएको छैन । जनप्रतिनिधि मात्रै होइन, कर्मचारीले पनि भ्रष्टाचार गरेका छैनन् । यदि कसैले भ्रष्टाचार गरेको छ भने म नैतिक रूपले जिम्मेवारी लिन्छु । कसैले भ्रष्टाचार गरेको छ भने मलाई सूचना दिए हुन्छ, म कारबाही गर्छु । अरू स्थानीय पालिकामा के भयो के भएन, मलाई मतलब छैन । तर, रंगेली नगरपालिकामा भ्रष्टाचारको ‘भ’ पनि हुन दिन्नँ । हाम्रामा आउने कर्मचारीहरू पनि निकै इमान्दार छन् । उनीहरू जनताको सेवामा अहोरात्र खटेका छन् । स्थायी सरकार कर्मचारीहरू नै हुन् । हामी त आउँछौं जान्छौं । त्यसो भएकाले कर्मचारीहरू इमान्दार हुनुपर्छ । अहिलेसम्म हाम्रो नगरपालिकामा कर्मचारीहरूले इमान्दारिताका साथ काम गरेका छन् । उनीहरूको कामको म प्रशंसासमेत गर्छु ।
अनि तपाईंले त नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाउनुभयो भन्ने समाचार नै आएको छ, हालै मात्र पनि कार्यालय सहयोगीको भर्ना गर्नुभयो होइन र ?
कहाँ के आयो, कसले के भन्यो भन्नेतर्फ म लाग्दिनँ । मेरो उद्देश्य भनेको कसरी हुन्छ नगरपालिकाभित्रका जनतालाई बढीभन्दा बढी सेवा दिने हो । केही समयअगाडि भर्ना गरिएको कास रंगेली अस्पतालका लागि हो । अस्पताल १५ बेडको हो । अहिले दैनिक २ देखि २ सय ५० जनाले ओपीडी सेवा पाइरहेका छन् । अस्पतालमा जनशक्तिको अभाव नै छ । अस्पतालबाट हुने एक्स–रे, अल्ट्रासाउण्ड, ल्याब, प्रसूतिलगायतका सेवा चौबीसै घण्टा प्रवाह हुने गरेको छ । त्यसका लागि डाक्टर र चिकित्सक परिचालन गर्नुपर्छ । अहिले जम्मा १८ जना कास छन् । अझै २०–२५ जना कासको अभाव देखिन्छ । १८ जनामध्ये अहिले नयाँ ९ जनामात्रै थपिएको छ ।
तपाईं त उद्योगी–व्यवसायी पनि हो, नगरपालिकामा भ्रष्टाचार नगरे पनि आफ्नो जग्गा भएको क्षेत्रमा नगरपालिकाको बजेटबाट सडक कालोपत्रे गर्नुभएको भन्ने आइरहेको छ, शक्तिको दुरुपयोग गरेर आफ्नो जग्गा भएको सडकमा कालोपत्रे गर्नुलाई पनि भ्रष्टाचार भनिँदैन र ?
रंगेली नगरपालिकाभित्र रहेको मेरो जग्गामा नगरपालिकाको बजेटबाट कालोपत्रे गरेको पुष्टि भए म आजै राजनीति छाड्छु । भन्नका लागि विरोधीहरूले जे पनि भन्छन् । मैले अघि पनि भनें, अरूके के भन्छन् र के गर्छन् भन्नेतर्फ मेरो ध्यान जाँदैन । मेरो ध्यान भनेको पाँच वर्षमा मैले गरेको कामलाई यहाँका जनताले भविष्यमा पनि सम्झिऊन् भन्नेतर्फ छ । पूर्व–पश्चिम हुलाकी राजमार्ग अथवा तराई–मधेस सडकले मेरो जग्गा छोयो भने के अब त्यहाँ कालोपत्रे नै नगर्नु ? फेरि पनि भन्छु नगरपालिकाको बजेटबाट मेरो जग्गा भएको ठाउँमा कालोपत्रे गरेको प्रमाणित भए आजैबाट राजनीतिबाट संन्यास लिन्छु ।
कोभिड–१९ कोरोना भाइरसको तेस्रो लहरमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ, यसको रोकथाम र न्यूनीकरणमा नगरपालिकाको भूमिका कस्तो छ ?
कोरोना रोकथाम र नियन्त्रणमा हामी अहोरात्र खटिरहेका छौं । जनप्रतिनिधि मात्रै होइन, कर्मचारी साथीहरू पनि लागिरहनुभएको छ । पहिलो र दोस्रो लहरका बेला पनि हामीले धेरै काम गरेका थियौं । यसपटक पनि तयारीहरू गरेका छौं । अस्पताललाई चुस्तदुरुस्त राखेका छौं ।